काठमाडौँ । स्टेट अफ ग्लोबल एयर २०२४ नामक रिपोर्ट हालै सार्वजनिक भएको छ । हेल्थ इफेक्ट इन्स्टिच्युट एवम् हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन नामक संस्थाले युनिसेफसँगको सहकार्यमा यो प्रतिवेदन सार्वजनिक गरेको हो ।
स्टेट अफ ग्लोबल एयरको उक्त प्रतिवेदनले २०२१ मा विश्वमा वायु प्रदूषणका कारण ८१ लाख मानिसको मृत्यु भएको तथ्य प्रस्तुत गरेको छ । सन् २०१९ मा करिब ७२ लाख मानिसको मृत्यु वायु प्रदूषणका कारण भएको उल्लेख गरिएको थियो।
वायु प्रदूषणका कारण नेपालमा सन् २०२१ मा ४८, ५०० मानिसको मृत्यु भएको तथ्यांक प्रतिवेदनमा उल्लेख गरिएको छ। सन् २०१९ को प्रतिवेदनमा यो सङ्ख्या ४२, १०० थियो । विश्व भरी वायु प्रदूषणका कारण मृत्यु हुने मध्ये पी.एम २.५ अर्थात् धुलो धुवामा मिसिएका विषाक्त वायुका कारण ५८ प्रतिशत मृत्यु घर भित्रको प्रदूषणका कारण ३८ प्रतिशत र ओजोनको कारण ६ प्रतिशत को मृत्यु भएको तथ्य रिपोर्टमा उल्लेख छ ।
विश्व भरी उच्च रक्तचाप पछि वायु प्रदूषण नै मानव स्वास्थ्यमा जोखिम बढाउने तत्त्व भएको कुरा उल्लेख छ । वायु प्रदूषणको उच्च जोखिममा दक्षिण एशियाली र अफ्रिकन मुलुकहरू रहेका छन् । संयुक्त राष्ट्र संघको साधारण सभाले स्वच्छ हावा, स्वास्थ्य र दिगो वातावरणलाई मानव अधिकारको रूपमा स्वीकार गरेको छ।
यसैगरी नेपालको संविधानको धारा ३० ले “स्वस्थ र स्वच्छ हावा” नागरिकको मौलिक हकको रूपमा व्यवस्था गरेको छ। यद्यपि,यी प्रावधानहरूको कार्यान्वयन हुन सकेको छैन । वायु प्रदूषणको मुख्य कारण मध्ये जिवाष्म इन्धन, र जैविक इन्धनको अधिकतम प्रयोग हुन् । यी बाहेक खुल्ला फोहोर बाल्ने,फोहोरको व्यवस्थापन नहुनु, कृषि अवशेषको जलन, वन डढेलो, विषादीको उच्च प्रयोग वायु प्रदूषणका कारण हुन् ।







