काठमाडौँ। मोरङ क्षेत्र नम्बर–३ बाट नेपाली कांग्रेसका उम्मेदवार रहेका डा. सुनिल शर्माले प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
लोकतन्त्र केवल दर्शन वा सिद्धान्त मात्र नभइ जनमतको सम्मान र व्यवहारमा प्रतिबिम्बित हुने प्रणाली भएकाले यो जनादेशले मुलुक र लोकतन्त्र विजय भएको डा. शर्माले बताए। जनमतलाई सम्मान गर्दै नेपाली कांग्रेसको कार्यकर्ताका रूपमा शर्माले यसलाई सहर्ष रुपमा स्वीकार गरे ।
उनले भने, ‘म हाल सम्पन्न भएको निर्वाचनमा भारी बहुमत मात्रै होइन झण्डै दुईतिहाईको नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी र सभापति रवि लामिछाने जी र बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) जी यहाँहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।’
जनताले नयाँ आशा र अपेक्षासहित जिम्मेवारी सुम्पिएकाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्दै नीतिगत सुधार गर्दै समग्र मुलुक र मोरङ–३ का आम नागरिकको अपेक्षा पुरा गर्नेमा उनले विश्वास पनि व्यक्त गरेका छन् ।
उनले निर्वाचनमा मलाई आफूलाई रुख चिन्हमा अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण मतदाता, नेपाली कांग्रेस मोरङ–३ का सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा सहयोगीहरूप्रति कृतज्ञता व्यक्त समेत व्यक्त गरे ।
उनी भन्छन् , ‘लोकतन्त्रमा जीत र हार स्वाभाविक प्रक्रिया हो। तर जनताप्रतिको सेवा, जिम्मेवारी र संवादको यात्रा कहिल्यै रोकिने छैन । आम नागरिकसँगको मेरो सम्बन्ध र सहकार्य आगामी दिनहरूमा पनि निरन्तर रहनेछ।’







