काठमाडौँ। म्याग्दी जिल्लामा निर्माण भएको २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा जोडिएको छ। रघुगङ्गा गाउँपालिका–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको यस आयोजनाको संरचना निर्माण, उपकरण जडान तथा आन्तरिक परीक्षण पूरा भएपछि विद्युत् राष्ट्रिय ग्रिडमा प्रवाह गरिएको हो।

आयोजनाका प्रमुख शिवसागर यादवका अनुसार गत फागुन २९ गते साँझ ६ बजेदेखि परीक्षणका रूपमा विद्युत् केन्द्रीय लाइनमा पठाउन थालिएको थियो। नेपाल विद्युत् प्राधिकरणका प्राविधिकहरूको उपस्थितिमा पाँच दिनसम्म गरिएको परीक्षण सफल भएपछि आयोजना राष्ट्रिय प्रसारण प्रणालीसँग जोडिएको उनले बताए। परीक्षण सफल भइसकेपछि करिब १५ दिनभित्रै आयोजनाले व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने तयारी गरिएको छ।

हाल सुक्खायामको अवस्थाका कारण आयोजनाबाट करिब १३.८६ मेगावाट विद्युत् उत्पादन भइरहेको जानकारी पनि उनले दिए। बाँध, पाइपलाइन, विद्युतगृह, प्रसारण लाइन तथा उपकरण जडानको काम सम्पन्न भएसँगै परीक्षण उत्पादन सुरु गरिएको हो।

२०८० सालदेखि निर्माण सुरु भएको यो आयोजना भौगोलिक रूपमा दुर्गम क्षेत्रमा अवस्थित छ। सुगुरथलामा बाँध तथा डिसेन्डर निर्माण गरिएको छ भने करिब २,९०० मिटर मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्ट पाइपलाइन जडान गरिएको छ। फेदी क्षेत्रमा दुई युनिट टर्वाइनसहितको विद्युत्गृह निर्माण गरिएको छ र सोही परिसरमा स्वीचयार्ड पनि तयार गरिएको इन्जिनियर सञ्जीव न्यौपानेले जानकारी दिए।

रन अफ द रिभर प्रविधिमा आधारित यस आयोजनाबाट उत्पादित विद्युत् प्रसारणका लागि फेदीदेखि बन्दीसम्म १४ वटा टावरमार्फत ६ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको छ। बन्दी क्षेत्रबाट भने ठूलोखोला र चिमखोला–मङ्गले–राहुघाट आयोजनासँग सहकार्य गर्दै तिल्केनीचौर हुँदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको छ। फेदीदेखि तिल्केनीचौरसम्म प्रसारण लाइनको दूरी २३.५ किलोमिटर रहेको छ।

झण्डै ५ अर्ब १४ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक र कृषि विकास बैंकले करिब ७० प्रतिशत ऋण लगानी गरेका छन्। प्रवर्द्धकको १० प्रतिशत लगानी रहेको आयोजनामा बाँकी २० प्रतिशत पूँजी सर्वसाधारणलाई सेयर जारी गरेर संकलन गर्ने योजना छ।

आयोजना निर्माणका क्रममा बेनीदेखि निर्माणस्थल जोड्ने सडक स्तरोन्नति तथा बर्खायाममा आएको मलाङको पहिरोका कारण उपकरण ढुवानीमा केही समय समस्या भएको थियो।

राहुघाट नदी र यसका सहायक खोलाहरूमा यसअघि पनि केही जलविद्युत् आयोजना निर्माण भइसकेका छन्। तुँदी पावरको प्रवर्द्धनमा बनेको ३५.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले तथा त्यसको क्यासकेडका रूपमा ४८.५ मेगावाट क्षमताको अपर राहुघाट आयोजना सञ्चालनमा आइसकेका छन्।

त्यस्तै, राहुघाटकै सहायक ठूलोखोलामा संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना गत भदौदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले प्रवर्द्धन गरिरहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना भने निर्माणको अन्तिम चरणमा पुगेको छ।