काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले भारतसँग मिलेर निर्माण गरिने दुई महत्वपूर्ण अन्तरदेशीय प्रसारण लाइनका लागि स्थापना हुन लागेको संयुक्त कम्पनीमा कुल तीन अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार यी परियोजनाहरूका लागि आवश्यक लगानी स्रोत पूर्ण रूपमा सुनिश्चित भइसकेको छ।

मन्त्रालयका अनुसार प्राधिकरणले नेपालमा दर्ता हुने संयुक्त कम्पनीमा एक अर्ब रुपैयाँ र भारतमा दर्ता हुने संयुक्त कम्पनीमा दुई अर्ब रुपैयाँ बराबरको स्वपुँजी लगानी गर्नेछ। लगानी संरचना दुवै देशका कानुनी प्रावधानअनुसार मिलाइएका छन्।

इनरुवा–पूर्णिया र दोदोधारा–बेरेली ४०० केभी क्षमताका दुई प्रसारण लाइन निर्माण गरी विद्युत् आदानप्रदान अझ प्रभावकारी बनाउने उद्देश्यले नेपाल–भारतका उच्च सरकारी अधिकारीबीच संयुक्त कम्पनी स्थापना गर्ने सहमति पहिल्यै भएको थियो। दुवै प्रसारण लाइन सन् २०३० सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

लगानी संरचना अनुसार, नेपालतर्फ दर्ता हुने कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत र भारतीय कम्पनी पावर ग्रीड कर्पोरेशन अफ इन्डिया लिमिटेडको ४९ प्रतिशत सेयर हुनेछ। त्यस्तै, भारतमा दर्ता हुने कम्पनीमा पावर ग्रीडले ५१ प्रतिशत र प्राधिकरणले ४९ प्रतिशत सेयर ओगट्नेछ।

नेपालमा दर्ता हुने कम्पनीका लागि प्राधिकरणले आफ्नै आन्तरिक स्रोतबाट लगानी गर्नेछ। भारतमा स्थापना हुने कम्पनीमा लगानीका लागि भने ‘विदेशमा लगानी गर्न प्रतिबन्ध’ सम्बन्धी ऐन, २०२१ को दफा ३ को उपदफा (२) बमोजिम आवश्यक कानुनी छूट दिइएको छ।