काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभपाती डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएसँगै आफ्नो आगामी योजना र प्राथमिकताबारे धारणा सार्वजनिक गरेका छन्।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धताकै आधारमा काम अघि बढाइने स्पष्ट पारे। उनले आफ्नो कार्यकालका मुख्य तीन प्राथमिकता निर्धारण गर्दै सुशासन, आर्थिक सुधार र गुणस्तरीय पूर्वाधार विकासलाई केन्द्रमा राखेका छन्।
वाग्लेले राज्यका सबै संरचनामा पारदर्शिता र सुशासन सुनिश्चित गर्नु पहिलो आवश्यकता भएको उल्लेख गरे। साथै, कमजोर बन्दै गएको अर्थतन्त्रलाई सुदृढ बनाउन ठोस र प्रभावकारी आर्थिक नीतिहरू लागू गर्नुपर्नेमा उनले जोड दिए।
देशको दीर्घकालीन विकासका लागि दिगो तथा गुणस्तरीय पूर्वाधार निर्माण अपरिहार्य रहेको उनको भनाइ छ।
नेतृत्व तह स्वच्छ र जिम्मेवार हुनुपर्नेमा जोड दिँदै उनले आफ्नो पार्टीका एजेन्डाहरूलाई संसदमार्फत प्रभावकारी रूपमा कार्यान्वयन गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।







