काठमाडौं। “कर्मले संसार जित्न सकिन्छ” भन्ने मान्यतामा दृढ विश्वास राख्ने व्यवसायी हुन् शिवप्रसाद घिमिरे । आज उनी नेपाली व्यापार क्षेत्रका एक सफल र प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित छन् ।
साधारण किसान परिवारबाट सुरु भएको उनको यात्रा आजको दिनसम्म आइपुग्दा बहुआयामिक व्यवसायिक साम्राज्यमा परिणत भएको छ। किराना पसलदेखि हाइड्रोपावर र विद्युतीय सवारी (इभी)सम्म फैलिएको उनको व्यवसायिक विस्तारले सामान्य मानिसको परिकल्पनाभन्दा बाहिरको सफलता देखाउँछ।
यो सफलता कुनै विरासतमा प्राप्त भएको होइन। उनको सफलताको पछाडि छ संघर्ष र अथक प्रयासहरूको शून्यबाट सुरु भएको यात्रा ।
धामिडाँडा गाउँबाट सुरु भएको संघर्ष
शिवप्रसाद घिमिरेको जन्म वि.सं. २०२० सालमा ललितपुरको गोटिखेल गाविसस्थित धामिडाँडामा एक साधारण किसान परिवारमा भएको हो। दुई दाजु, दुई दिदी र एक बहिनीबीच हुर्किएका उनी ग्रामीण परिवेशमै बाल्यकाल बिताएका थिए।
शिक्षाको सुरुवात गाउँकै विद्यालयबाट भयो, जहाँ पाटी र खरी प्रयोग गरेर पढ्ने चलन थियो। तितेपाती र बनमारा झारलाई डस्टरका रूपमा प्रयोग गरिन्थ्यो। पढाइसँगै उनले घरको काम, पशुपालन र घाँस काट्ने जिम्मेवारी पनि सम्हाल्नुपर्थ्यो। गाउँमा केही वर्षको संघर्षपूर्ण जीवनपछि उनको परिवारको बसाइँसराइ भयो।
अवसरको खोजीमा नयाँ यात्रा
कुरा हो वि.सं. २०२९ सालको, उनको परिवार ललितपुरबाट मकवानपुरको आमभञ्ज्याङ बसाइँ सर्यो। दुर्गम भौगोलिक अवस्था, खाद्यान्न अभाव र बजारसम्म पुग्नुपर्ने कठिन यात्राले बसाइँसराइको निर्णय गराएको थियो।
नौ वर्षको उमेरमै बागमती किनारैकिनार पैदल हिँडेर नयाँ ठाउँ पुगेका घिमिरेका लागि वातावरण फेरिए पनि जीवनशैली उस्तै रह्यो, स्कुल उस्तै, खेतबारी उस्तै र पशुपालनको निरन्तरता पनि उस्तै। त्यही क्रममा घिमिरेभित्र केही गर्नुपर्छ भन्ने हुटहुटी विकसित हुँदै गइरहेको थियो।
विद्यार्थी जीवनमै व्यापारको सुरुवात
स्कुल टाढा भएका कारण खाजा खान घर आउजाउ गर्दा खर्च हुने समयलाई उपयोग गर्ने सोचले उनलाई व्यापारतर्फ आकर्षित गर्यो। यही सोचबाट उनले विद्यार्थी अवस्थामै घुम्ती पसल सञ्चालन सुरु गरे।
हेर्दाहेर्दै ऐँठे, पुष्टकारी, चकलेट, ललिपपजस्ता सामान बेच्ने उनको पसलमा विद्यार्थीहरूको भीड लाग्न थाल्यो। यसले उनलाई “फुच्चे व्यापारी” को उपनाम दिलायो।
पढाइमा पनि घिमिरे उत्तिकै उत्कृष्ट थिए। कक्षामा सधैं पहिलो हुने विद्यार्थी। तर विस्तारै व्यापारप्रतिको लगावले पढाइबाट ध्यान हट्दै गयो वा भनौँ समय नै दिन सकेनन्।
किशोरावस्थामै खडा भयो व्यापारको साम्राज्य
१५ वर्षको उमेरमै उनले हेटौँडाको मुख्य चोकमा किराना पसल सञ्चालन गरे। त्यति सानो उमेरमै उनी स्थानीय रूपमा व्यापारीका रूपमा चिनिन थाले।
व्यापारका लागि सजिलो होस् भनेर उनले कानुनी उमेरभन्दा पहिले नागरिकता बनाएका थिए। पढाइ र व्यापार सँगसँगै अघि बढाउने प्रयास भए पनि अन्ततः व्यापारले प्राथमिकता पायो। फुच्चे व्यापारी अब ठूलो हुँदै गइरहेको थियो।
देशैभर व्यापार विस्तार
व्यापार बढ्दै जाँदा उनले कर्मचारी राख्न थाले। सामान ढुवानीका लागि आफ्नै ट्रक पनि खरिद गरे। दमौली, काठमाडौं, पोखरालगायत विभिन्न सहरमा सामान पठाउन थाले।
गाउँबाट ल्याइने कृषि उत्पादन
धान, मकै, कोदो, फापर आदिलाई बजारसम्म पुर्याउने काम पनि उनले गरे। त्यसबेला धेरै कारोबार ‘वस्तु साटासाट’ (बार्टर प्रणाली)मा हुने गर्थ्यो। त्यतिबेलादेखि हालको मौद्रिक अर्थतन्त्रसम्म आइपुग्दा व्यवसाय क्षेत्रमा उनको योगदान महत्वपूर्ण छ।
शून्यबाट सुरु भएको यात्रा फेरि शून्यमा
व्यवसायी शिवप्रसाद घिमिरेले एउटा पुस्तक पनि लेखेका छन्। नाम हो ‘शून्यबाट सुरु भएको व्यापार अपार’। त्यही पुस्तकमा उनले आफ्नो व्यवसायिक यात्रादेखि प्रेम जीवनसम्मका अनुभव समेटेका छन्।
उनको जीवनमा प्रेमविवाह पनि एक महत्वपूर्ण मोड बन्यो। पारिवारिक अंशबण्डापछि भने उनले पुनः ‘शून्य’बाट जीवन सुरु गर्नुपर्यो। उनको भागमा जमिन मात्र पर्यो, घर परेन। त्यतिबेला पनि उनी निकै भौतारिए, तर हार नमानी उनले हेटौँडामा साझेदारीमा फेरि कपडा पसल सुरु गरे। नाम राखे ‘त्रिखण्डश्वरी इम्पोरियम’।
व्यापार राम्रो हुँदै गएपछि उनले गल्ला व्यापार पनि सुरु गरे, त्यसबाट पनि उनलाई राम्रो आम्दानी भइरहेको थियो।
बहुआयामिक व्यवसायिक विस्तार
समय बित्दै गयो। यस्ता अनेकौँ संघर्ष पार गर्दै शिवप्रसाद घिमिरेले समयसँगै आफ्नो व्यवसायलाई विभिन्न क्षेत्रमा विस्तार गरे। पेट्रोल पम्प, ग्यास उद्योग, सवारी साधन, चिया बगान, हाइड्रोपावर, विद्युतीय सवारी साधन ९इभी०सम्म उनको व्यापार विस्तार भएको छ।
उनले २०५६–२०६० सम्म ‘कोशी पेट्रोलियम डिलर एसोसिएसन’को अध्यक्षको जिम्मेवारी समेत सम्हालेका थिए। साथै पूर्वाञ्चल पेट्रोलियम ढुवानी संघका संस्थापक अध्यक्ष पनि बने।
एक समय त उनलाई राजनीतिले पनि आकर्षित गर्यो। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४९ सालमा उनी मकवानपुरको एक गाविस अध्यक्षमा निर्वाचित भएका थिए। तर जालझेल नजानेका व्यवसायी घिमिरे राजनीतिको फोहोरी चक्रमा टिक्न सकेनन् र त्यो यात्रामा पूर्ण विराम लगाए।
हुन त त्यतिबेला उनको पहलमा गाउँमा सडक, पुल र बिजुली पुगे। तर राजनीति र व्यापार सँगसँगै अघि बढाउन कठिन भएपछि उनले राजनीतिक जीवन त्याग्ने निर्णय गरे।
द्वन्द्वदेखि कोभिडसम्मका चुनौती
उनको व्यवसायिक यात्रामा द्वन्द्वकाल र कोभिड–१९ जस्ता चुनौतीपूर्ण समय पनि आए। तर उनले ती कठिनाइलाई अवसरमा बदल्ने प्रयास गरे। उनले सुनसरीको इटहरीलाई आफ्नो कर्मथलो बनाए।
आफ्नो जीवनलाई उनी यसरी व्याख्या गर्छन्, धामिडाँडाले जरा, मकवानपुरले बिरुवा र सुनसरीले रूख बनायो। उनले आफ्नो जीवन र व्यापारिक अनुभवलाई ‘शून्यबाट सुरु भएको व्यापार अपार’ नामक पुस्तकमा समेटेका छन्।
एफएनसीसीआईको निर्वाचनको चुनावी मैदानमा घिमिरे
हाल उनै शून्यबाट सफलताको शिखरसम्म पुगेका शिवप्रसाद घिमिरे नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनका लागि चुनावी मैदानमा छन् ।
वस्तुगततर्फका उपाध्यक्ष समेत रहेका घिमिरे स्पष्ट एजेन्डा र लामो अनुभवसहित चुनावी मैदानमा उत्रिएका हुन्। अन्जन श्रेष्ठ समूहबाट उम्मेदवारी दिएका घिमिरे महासंघभित्र झन्डै तीन दशकदेखि सक्रिय रहँदै आएका छन्।
घिमिरेका अनुसार आफ्नो उम्मेदवारी हतारमा नभई सही समयको पर्खाइपछि आएको हो। व्यवसायिक जिम्मेवारीबाट केही हदसम्म मुक्त भएपछि मात्र उनले महासंघलाई पर्याप्त समय दिन सक्ने विश्वासका साथ उम्मेदवारी दिएको स्पष्ट पारेका छन्। यही कारण उनी आफूलाई ‘ढिलो तर सही समयमा आएको उम्मेदवार’का रूपमा प्रस्तुत गर्छन्।
उनको मुख्य एजेन्डा नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण र निजी क्षेत्रलाई सशक्त बनाउनेतर्फ केन्द्रित छ। नेपालको आर्थिक सुस्तताको मूल कारण पुराना र अव्यवहारिक ऐन–कानुन रहेको औंल्याउँदै उनले ती कानुनको पुनर्लेखन र परिमार्जनमा महासंघले सरकारसँग सशक्त पहल गर्नुपर्ने बताएका छन्।
अहिले बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी थुप्रिएको, ब्याजदर घटेको भए पनि लगानीकर्तामा विश्वासको कमी देखिनु नीतिगत अस्पष्टताको परिणाम भएको उनको विश्लेषण छ।
त्यसैगरी, उनले डिजिटल अर्थतन्त्रको युगअनुसार महासंघ र सरकारी संरचनालाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्। कागजी प्रक्रिया र ढिलासुस्तीले व्यवसायीलाई हैरान बनाएको भन्दै सबै सेवा प्रणाली अनलाइनमार्फत सञ्चालन गर्न सके पारदर्शिता, सुशासन र कार्यक्षमता बढ्ने उनको विश्वास छ। फाइल बोकेर टेबुल–टेबुल धाउनुपर्ने पुरानो प्रवृत्तिको अन्त्य गर्नु अहिलेको आवश्यकता भएको उनले स्पष्ट पारेका छन्।
युवा पलायनको विषयमा पनि घिमिरे गम्भीर देखिन्छन्। उनका अनुसार विदेश जाने युवालाई रोक्ने उपाय भाषण होइन, स्वदेशमै रोजगारी सिर्जना हो। निजी क्षेत्रलाई लगानीका लागि सहज र सुरक्षित वातावरण उपलब्ध गराउन सके मात्र स्वदेशी तथा विदेशी लगानी आकर्षित हुने र युवाले आफ्नै देशमा अवसर पाउने उनको धारणा छ।
निर्वाचन प्रक्रियालाई उनले स्वस्थ प्रतिस्पर्धाको रूपमा व्याख्या गर्दै चैत ३० पछि महासंघ एकजुट भएर अघि बढ्ने बताएका छन्। निर्वाचनपछि कुनै प्यानल नरहने र सबै व्यवसायी एउटै छातामुनि उभिने उनको भनाइले सहकार्य र एकताको सन्देश दिन्छ। उनले महासंघलाई सबै व्यवसायीका लागि ‘घामपानीबाट जोगाउने छाता’ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
वरिष्ठ उपाध्यक्षसहितका पदहरू कार्यसमिति चयनपछि मात्र तय हुने वैधानिक व्यवस्थाबारे स्पष्ट पार्दै उनले आफ्नो समूहभित्र पनि सक्षम र अनुभवी व्यक्तित्वहरू रहेको बताएका छन्।
देशमा अहिले दुई तिहाइको सरकार रहेको सन्दर्भमा निजी क्षेत्रले सरकारसँग ठूला अपेक्षा राखेको भन्दै घिमिरेले सरकारसँग सहकार्य गर्दै नीतिगत बाधा हटाउनेतर्फ महासंघले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन्। आफूहरू सरकारका आर्थिक साझेदार र सल्लाहकारको भूमिकामा रहन तयार रहेको उनको भनाइ छ।
शून्यबाट सुरु गरेर बहुआयामिक सफलता हासिल गरेका शिवप्रसाद घिमिरेको जीवन यात्रा केवल व्यक्तिगत उपलब्धिको कथा मात्र होइन, दृढ संकल्प, निरन्तर मेहनत र स्पष्ट दृष्टिकोणले असम्भवजस्तो लक्ष्य पनि सम्भव हुन्छ भन्ने उदाहरण हो।
लामो अनुभव, व्यवसायिक परिपक्वता र नीतिगत स्पष्टतासहित अहिले उनी एफएनसीसीआईको निर्वाचनमा उत्रिँदा निजी क्षेत्रको अपेक्षा पनि उनीप्रति बढेको देखिन्छ।
उनका एजेन्डा र सोचले व्यावसायिक वातावरण सुधार, लगानी अभिवृद्धि र युवा पलायन रोक्न सक्ने विश्वास गरिएको छ। त्यसैले, संघर्षबाट खारिएको उनको नेतृत्वले महासंघलाई थप प्रभावकारी र परिणाममुखी दिशातर्फ अघि बढाउने अपेक्षा गरिएको छ।







