काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले वैशाख १२ गते बिहानदेखि काठमाडौँका ३ स्थानको सुकुमबासी बस्तीको टहरा भत्काउने निर्णय गरेको छ ।

बिहीबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले जिल्ला सुरक्षा समितिको बैठकमा त्यसबारे छलफल गरेका थिए । सुरक्षा समितिको बैठकपछि उनले काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ सँग पनि छलफल गरेका थिए ।

जिल्ला सुरक्षा समिति र काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुखसँग छलफल गरेपछि पहिलो चरणमा ३ ठाउँको सुकुमबासी बस्ती हटाउने निर्णय गरिएको छ । पहिलो चरणमा थापाथली, गैह्रिगाउँ र जडीबुटी स्थित मनहरा खोला किनारको बस्ती खाली गराउने निर्णय गरिएको जिल्ला सुरक्षा समिति काठमाडौँका एक जना अधिकृतले बताए ।

काठमाडौँ महानगर, प्रहरी र सशस्त्रका सुरक्षा अधिकारीहरूले उपत्यकाको तिनै स्थानमा अवैध तरिकाले बनाइएका घर र टहरा खाली गर्न माइकिङ सुरु गरेका छन् । वैशाख ११ गते साँझ ७ बजेभित्र घर, टहराहरू खाली गर्न स्थानीय प्रशासनले सूचना दिएको छ । घर, टहरामा भएका सामान र चौपाया तत्काल सार्न र अपाङ्ग, बालबालिका, गर्भवती, सुत्केरा र वृद्ध वृद्धालाई प्राथमिकता दिएर सार्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।