काठमाडौँ। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले सहकारीबाट पीडित बनेका बचतकर्ताको रकम फिर्ता गराउन सशक्त आन्दोलनको घोषणा गरेको छ।

(आज) बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत आगामी आन्दोलनका कार्यक्रमबारे जानकारी गराइएको छ । फागुन ६ गते सहकारी विभागमा धर्ना दिएर आन्दोलनको सुरुवात गर्ने, ८ गतेबाट काठमाडौँ, भक्तपुर र ललितपुरको प्रत्येक गल्ली–गल्लीमा कोणसभा तथा घरदैलो कार्यक्रम गर्ने र चैत १ गते देशैभरका पीडितले काठमाडौँ केन्द्रित आन्दोलन गर्ने जानकारी गराएको छ ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुश लव केसीले आफूहरूले सहकारी पीडितहरूको पक्षमा यसअघि सरकारसँग गरेको सम्झौता अहिलेसम्म कार्यान्वयनको प्रयाससमेत नभएको बताएका छन्।

चैत मसान्तसम्म सरकारले सबै बचतकर्ताको रकम फिर्ता गराउने प्रतिबद्धता व्यक्त गरे पनि अहिलेसम्म केही काम नगरेको र आफूहरूसँग समन्वयसमेत नभएको भन्दै केसीले आक्रोश पोखेका छन्  । सरकारको यस प्रकारको गतिविधिले सरकार कसका लागि हो रु भन्ने प्रश्न चिन्ह खडा भएको केसीको भनाई छ ।

अहिले आफूले नेतृत्व गरेको अभियानमा ७३ लाख पीडितहरू जोडिएको केसीको दाबी छ । ती पीडितहरू फरक फरक दुई सय ८९ सहकारीमा आबद्ध रहेका बताए। आफूहरू अब सहकारी पीडितको न्यायका लागि मर्न पनि तयार भएर सडकमा जान लागेको केसीले उद्घोष गरेका छन्। साथै, उनले अब सरकारको कागजी सहमतिमा यो आन्दोलन नरोकिने बताए।

‘सहकारी विभागमा यही आउँदो ६ गते आइतबार १० बजेबाट ५ बजेसम्म धर्ना दिने कार्यक्रमको सुरुवात गर्दै छौँ । पहिलो चरणको आन्दोलन सहकारी विभागको प्राङ्गणबाट सुरु हुन्छ ।

८ गतेबाट हामी काठमाडौँ, भक्तपुर र ललितपुरको प्रत्येक गल्ली–गल्लीमा कोणसभा, घरदैलो कार्यक्रम गर्छौँ ।’ उनले भने, ‘उहाँहरूका गुनासो र सल्लाह सुझाव लिने काम गर्छौँ । चैत १ गते देशभरका पीडित बचतकर्तालाई काठमाडौँ आह्वान गर्छौँ । चैत १ गतेबाट भने हाम्रो कार्यक्रम ज्यानको बाजी लगाएर लड्न हामी तयार छौँ ।’