काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला २२ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य वृद्धि भएको छ। पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस १४.७४ डलरले बढेको हो।  नेपाली बजारमा यस अगाडि पटक पटक सुनको मूल्यले नयाँ कीर्तिमानी कायम गर्दै आएको छ।