काठमाडौं । पछिल्लो समय बैंकमा सुनचाँदी राखेर ऋण लिनेको सङ्ख्यामा बढोत्तरी आएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार एक महिनाको अवधिमा सुनचाँदी धितो राखेर ऋण लिनेको सङ्ख्या बढेको छ ।

राष्ट्रबैैंकको तथ्याङ्क अनुसार एक महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट १ अर्ब ७३ करोड रुपैयाँ बराबरको कर्जा बाहिरिएको छ । साउन महिनामा ६० अर्ब २१ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । गत असार मसान्तसम्म सुनचाँदी धितोबापत ५८ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो।

केन्द्रीय बैंकका अनुसार आव २०७८/ ७९ मा ५२ अर्ब ७८ करोड रुपैयाँ कर्जा बाहिरिएको छ । साथै, त्यसयता आव २०७९/८० मा ५५ अर्ब ५३ करोड रुपैयाँ ऋण लगेका ऋणीले गत आव २०८० /८१ मा ५८ अर्ब ४८ करोड रुपैयाँ सुन धितो राखेर कर्जा लगेको तथ्याकंमा उल्लेख छ ।

वाणिज्य बैंकहरुले अहिले ९.६८ प्रतिशत औसत ब्याजदरमा कर्जा दिँदै आएका छन्। गत वर्षको सोही अवधिमा ऋणीले यसरी कर्जा लिँदा औसतमा १२.२४ प्रतिशतसम्मको ब्याज तिरेका थिए । राष्ट्र बैंकका अनुसार साउन महिनामा कुल ६० अर्ब २१ करोड रुपैयाँ सुन धितो राखेर कर्जा प्रवाह हुँदा वाणिज्य बैंकहरुबाट ५५ अर्ब ५४ करोड रुपैयाँ, विकास बैंकहरुबाट १ अर्ब ६५ करोड रुपैयाँ, फाइनान्स कम्पनीहरूबाट ३ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।

राष्ट्र बैंकका अनुसार नेपाल बैंकले साउन महिनासम्म २३ अर्ब ३८ करोड रुपैयाँ सुन धितोमा कर्जा प्रवाह गरेको छ भने राष्ट्रिय वाणिज्य बैंकले २० अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। त्यस्तै प्राइम बैंकले ६ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब १८ करोड, लक्ष्मी सनराइज बैंकले ६८ करोड रुपैयाँ सुनचाँदी धितोमा कर्जा प्रवाह गरेको छ।

नबिलले ५१ करोड, एनआईसी एसियाले ३ करोड, माछापुच्छ्रेले १२ करोड, कुमारीले २५ लाख, सिद्धार्थले १ करोड, कृषि विकास बैंकले १ करोड, सिटिजन्सले ७० करोड, प्रभु बैंकले ७ करोड कर्जा प्रवाह गरेको तथ्यांकमा उल्लेख छ ।