काठमाडौँ। एसियाली विकास बैंक (एडीबी) ले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाएको छ । बुधवार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने अनुमान गरेको छ ।
अप्रिल २०२४ मा सार्वजनिक गरिएको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत मात्र हुने अनुमान गरिएको थियो। यो बिचमा कृषि उत्पादन, पर्यटक आगमनमा सुधार र विद्युत् उत्पादनमा भएको वृद्धिसहितका कारणले जीडीपीमा सकारात्मक वृद्धि हुने अनुमान गरिएको छ।
एडीबी नेपालले समेत बुधवार नेपाल सम्बन्धी विवरणहरू सार्वजनिक गरेको छ । सन् २०२५ मा अर्थतन्त्रमा अझै सुधार हुने अनुमान एडीबीले गरेको छ । सो वर्ष ४.९ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान एडीबीको छ । अप्रिलको प्रक्षेपणमा ४.८ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान गरिएको थियो ।
दक्षिण एसियाली भेगमा सन् २०२४ मा ६.३ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ । सन् २०२५ मा यसै क्षेत्रमा ६.५ प्रतिशतको वृद्धिदर हुने अनुमान छ । सन् २०२३ मा ६.८ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त भएको थियो । यस भेगमा सबैभन्दा धेरै भारतको वृद्धिदर हुने देखिएको छ ।
भारतले ७ प्रतिशतको वृद्धिदर प्राप्त गर्ने एडीबीको अनुमान छ । बंगलादेश, भुटान र माल्दिभ्सले समेत यस वर्ष ५ प्रतिशत माथिको वृद्धिदर प्राप्त गर्नेछन् । मुद्रास्फीतितर्फ सन् २०२४ मा नेपालले ५.४ प्रतिशतको सीमा भित्र राख्न सक्ने देखिएको छ । सन् २०२३ मा ७.७ प्रतिशत थियो । सन् २०२५ मा केही बढेर ५.५ प्रतिशत मुद्रास्फीति हुने अनुमान एडीबीको छ ।
वरिष्ठ अर्थशास्त्री मानवर खड्काले कर्जा प्रवाह अपेक्षित नभए पनि सुधारोन्मुख अवस्थामा रहेको बताए । यस पटक मनसुनले धान बालीमा ठुलो असर नगरेको र पर्यटन सेवामा भएको वृद्धिले नेपालले ४.९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने आधार रहेको बताए ।
एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले आन्तरिक आयमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवाको पुनरुत्थानले कुल गार्हस्थ्य उत्पादन बढ्ने बताए । सामान्य मनसुनसँगै समयमै धान रोपाइँ सम्पन्न भएकाले कृषि क्षेत्रमा सुधार हुने उनले बताए ।







