काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच २१ अर्ब २३ करोड अर्थात एक सय ५७ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना (सिआरएलएलपी) कार्यान्वयनका लागि एडिबीले उक्त अनुदान रकम नेपाल सरकारलाई दिने भएको हो ।

अर्थ मन्त्रालयमा आज भएको सम्झौताअनुसार उक्त परियोजनाका लागि एडिबीले १४ अर्ब ८८ करोड (११० मिलियन अमेरिकी डलर) ऋण तथा २ अर्ब (१५ मिलियन अमेरिकी डलर) अनुदान दिने जनाएको हो ।
त्यस्तै, जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका लागि रु एक अर्ब ३५ करोड ऋण २ अर्ब ९७ करोड अनुदान सम्झौता भएको हो ।

सम्झौतापत्रमा अर्थसचिव डा. रामप्रसाद घिमिरे र एडिबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापत्रमा हस्ताक्षरपछि अर्थसचिव घिमिरेले यी परियोजनाको माध्यमबाट उन्नत सिँचाइ प्रविधि र दिगो जल व्यवस्थापनले खाद्य सुरक्षाका साथै जलवायु परिवर्तनको असर सामना गर्न सहयोग पुग्ने बताए ।

एडिबीका देशीय निर्देशक कोश्वाले यी परियोजनाका विशेषता र यसले नेपालको आर्थिक क्षेत्रमा ल्याउने योगदानको चर्चा गर्नुहुँदै जलवायु अनुकूलन, कृषि उत्पादकत्व र जल सुरक्षा क्षेत्रमा एडिबीले नेपाललाई सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाए ।