काठमाडौँ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको सङ्केत गरेको बताएका छन् ।

बिहीबार भएको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रूपमा काम गर्ने जानकारी दिएका छन् ।

उनले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का पुगेको भन्दै यसले अन्तर्राष्ट्रिय स्तरमा पनि मुलुकको छविमा आँच आउने अवस्था बनेको बताएका छन् । यही साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोट जिल्लामा भएको हेलिकप्टर दुर्घटनाबारे जाँच आयोग गठन गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।

शिवपुरी गाउँपालिकाको सूर्य चौरमा एयर डाइनेष्टि हेली सर्भिस प्रालिको ९एन–एजेडी कल साइन रहेको हेलिकप्टर दुर्घटना भएको थियो । सो दुर्घटनाको जाँच गरी काम सुरु गरेको मितिले ३० दिनभित्र सिफारिससहितको प्रतिवेदन पेस गर्न नेपाली सेनाका वरिष्ठ पाइलट सुवाष थापाको संयोजकत्वमा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने सरकारको निर्णय रहेको प्रवक्ता गुरुङले बताए ।

हेलिकप्टर दुर्घटनामा परेका नेपालीसहित चिनियाँ नागरिकप्रति सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले समवेदना प्रकट गरे। ‘अहिलेसम्म दुर्घटना हुने छानबिन र जाँचबुझ समिति बनाउनेमा सरकार सीमित भयो’, उनले भने, ‘अब सरकारले कारणसहित समाधान निकाल्ने गरी छलफल गरिरहेको छ।