काठमाडौँ। चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार एनएमबि लघुवित्त वित्तीय संस्थाको चालु आवमा कम्पनीको खुद नाफा धनात्मक देखिएको छ । लघुवित्तले सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरण अनुसार ७१ लाख रुपैयाँ धनात्मक देखिएको छ ।
गत वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नाफा ४ करोड ७३ लाख रुपैयाँ ऋणात्मक रहेकोमा चालु आवको सोही अवधिमा घटेर ७१ लाख रुपैयाँ धनात्मक भएको हो। गत वर्ष ४ करोड ७० लाख रुपैयाँ ऋणात्मक रहेको सञ्चालन नाफा घटेर ७१ लाख रुपैयाँ धनात्मक भएसँगै खुद नाफामा बढोत्तरी भएको छ ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ५ करोड ७४ लाख रुपैयाँबाट बढेर ८ करोड ८ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल सञ्चालन आम्दानी समेत ६ करोड ५८ लाख रुपैयाँबाट वृद्धि भई ९ करोड ८ लाख रुपैयाँ पुगेको छ।
चालु आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३.९७ रुपैयाँ धनात्मक भएको छ। गत वर्ष कम्पनीको प्रतिशेयर आम्दानी २६.२५ रुपैयाँ ऋणात्मक रहेको थियो । साथै, यस अवधिमा कम्पनीको खराब कर्जा समेत ०.९० प्रतिशतले घटेर ६.३७ प्रतिशतमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३०.२४ रुपैयाँ छ।
कम्पनीको सापटी ३ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी छ भने कर्जा प्रवाह ५ अर्ब ४९ करोड रुपैयाँभन्दा बढी छ। त्यस्तै कम्पनीले १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ। चुक्ता पुँजी ७२ करोड १४ लाख रुपैयाँ रहेको छ।







