काठमाडौँ। नवलपरासीको बर्दघाट नगरपालिका–४ की सीता भण्डारी पछिल्लो समय बीमा क्षेत्रकी एक सक्रिय र अनुभवी अभिकर्ताका रूपमा परिचित छिन्।

वि.स. २०७० साल कात्तिक ७ गतेदेखि एसियन लाइफ इन्स्योरेन्स कम्पनीको बर्दघाट शाखाबाट अभिकर्ता यात्रा सुरु गरेकी उनी आजसम्म निरन्तर यही क्षेत्रमा समर्पित भएर काम गरिरहेकी छन्।

उनको यात्रा केवल पेशागत स्थायित्वको कथा मात्र होइन, सीमित स्रोतबाट सुरु भएर आत्मनिर्भरता, संघर्ष र सामाजिक योगदानमा आधारित प्रेरणादायी उदाहरण पनि हो।

सहकारीमा काम गरिरहेकी सीता बीमा अभिकर्ता कसरी बनिन् त ? आज हामी उनको प्रेरणादायी बीमा यात्राका बारेमा चर्चा गर्नेछौँ। उनी पेसागत बिमा अभिकर्ता संघ नेपाल बीमक समिति एसियन लाईफ इन्स्योरेन्स कम्पनीको बीमक समितीकी वरिष्ठ उपाध्यक्ष पनि हुन् ।

यसरी सुरु भयो सीताको बीमा यात्राको सुरुवात

सीता भण्डारीको पेशागत यात्रा सिधै बीमाबाट सुरु भएको थिएन। उनले सुरुवाती दिनहरूमा सहकारी संस्थामा दैनिक बचत संकलनको काम गर्थिन्। त्यही क्रममा उनले आम्दानी, कमिसन र आर्थिक व्यवस्थापनको आधारभूत अनुभव हासिल गरिन्।

सीता जुन सहकारीमा गर्थिन्, त्यही सहकारीकी व्यवस्थापक मिना भट्टराईको माध्यमबाट उनी एसियन लाइफमा प्रवेश गरेको बताउँछिन्।

उनी भन्छिन्, “मिना म्यामले नै मलाई आफ्नो टिममा राखेर मेरो १००० शुल्क तिरिदिएर मलाई अभिकर्ताका रूपमा एसियन लाइफमा प्रवेश गराउनुभएको हो। बीमा के हो भन्ने कुरा सुरुमा मैले खासै बुझेकी थिइनँ, तर सिक्दै जाँदा यो केवल कमाइको माध्यम होइन, जोखिम व्यवस्थापन गर्ने माध्यम रहेछ भन्ने बुझ्दै गएँ।”

सुरुवाती संघर्ष र चुनौती

बीमा क्षेत्रमा प्रवेश गरेपछि उनको यात्रा सजिलो थिएन। घरधन्दा, बालबच्चा र पारिवारिक जिम्मेवारीसँगै पेशा सम्हाल्नु उनका लागि ठूलो चुनौती थियो। सुरुवाती दिनमा ग्राहक भेट्न घर–घर जानुपर्ने, विश्वास दिलाउन समय लाग्ने र सानो रकमको पोलिसी बेच्न पनि कठिन हुने अवस्था थियो।

उनी सम्झिन्छिन्, “सहकारीका बचतकर्ताका फाइल र अभिकर्ताका फाइलहरू एउटै झोलामा हालेर बीमा यात्राको सुरुवात गरेकी थिएँ। सुरुवाती दिनमा त सानो पोलिसी बेच्न पनि निकै गाह्रो हुन्थ्यो। फाइल बोकेर हिँड्ने, घर–घर पुग्ने त्यो समय निकै संघर्षपूर्ण थियो। सामान बिक्री गर्नु भन्दा सेवा बिक्री गर्नु धेरै गाह्रो हुँदो रहेछ भन्ने कुरा पनि मैले त्यही दौरानमा अनुभव गरेँ।”

त्यतिबेला न स्मार्टफोन थियो, न डिजिटल सुविधा नै। सबै कुरा प्रत्यक्ष भेटघाटमै निर्भर थियो। उनले घामपानी केही नभनी त्यो समयमा घर–घर पुगेर निकै संघर्ष गरिन्। बीमाबारे बुझ्दै र बुझाउँदै गइन्।

सहकारी छोडेर बीमा क्षेत्रमा पूर्ण समर्पण

सहकारीमा काम गर्दा मासिक आम्दानी सीमित थियो। सहकारीमा महिनामा उनको तलब १० हजार मात्र थियो। दैनिक १४–१५ किलोमिटर साइकल चलाएर काम गर्नुपर्ने अवस्थाले उनलाई झनै गाह्रो बनाइरहेको थियो।

यता घरपरिवार र बालबच्चाका जिम्मेवारी आम नेपाली नारीजस्तै उनलाई पनि थिचिरहेका थिए। तर उनले हिम्मत हारिनन् र राम्रो अवसर खोज्न प्रेरित भइन्।

उनले भनिन्, “सहकारीमा महिनाभरि काम गर्दा १० हजार पाउँथेँ। बीमा सुरु गरेपछि मैले सुरुमा एक महिनामा ४ पोलिसी बेच्दा त्यहाँबाट १५,००० रुपैयाँ आयो। त्यसपछि मैले बीमामा राम्रो सम्भावना देखेँ र सहकारीमा बचतकर्ताको पैसा संकलन गर्ने कामबाट राजीनामा दिने निधो गरेँ।”

विदेशबाट फर्किएर संघर्षका अनेक मोड पार गर्दै बीमा क्षेत्रमा जमेका दामोदर लामिछाने

बीमा क्षेत्रमा कम समयमै राम्रो आम्दानी सम्भव देखेपछि उनले यही क्षेत्रमा केन्द्रित हुने निर्णय गरेकी हुन्। पछि कम्पनीबाट स्कुटर सुविधा पाउनु उनका लागि उत्प्रेरणाको स्रोत बन्यो।

बीमामा महिलाका लागि चुनौती र अवसर दुवै

सीता भण्डारीका अनुसार बीमा क्षेत्रमा महिलाहरूका लागि चुनौती र अवसर दुवै छन्।

उनले भनिन्, “हाम्रो समाजमा धेरै पुरुष विदेशमा हुने हुँदा परिवारसँग महिलामार्फत नै सम्पर्क गर्न सजिलो हुन्छ। त्यसैले महिलाले यो पेशामा राम्रो गर्न सक्छन्।”

उनका अनुसार महिलामा संवेदनशीलता र विश्वास जित्ने क्षमता बढी हुने भएकाले बीमा क्षेत्रमा उनीहरूको भूमिका महत्वपूर्ण हुन्छ।

टिमसँगको सहकार्य

लामो समयको अनुभवसँगै सीताले व्यक्तिगत मात्र होइन, टिम निर्माणमा पनि ध्यान दिएकी छन्। उनी अहिले ठूलो टिम नेतृत्व गर्दै काम गरिरहेकी छन्।

उनका अनुसार टिम निर्माण गर्नु भनेको “बिरुवा रोप्नु” जस्तै हो, जसले भविष्यमा निरन्तर फल दिन्छ।

“आज मैले रोपेको टिम भोलि म नभए पनि चलिरहन्छ। यही नै बीमा क्षेत्रको दीर्घकालीन शक्ति हो,” उनी भन्छिन्।

भावनात्मक क्षणहरू

उनको बीमा यात्रामा केही घटनाहरू अत्यन्तै भावनात्मक छन्। एक घटनामा, उनकी एक महिला बीमितको ज्यान बच्चा जन्माउने क्रममा अत्यधिक रक्तस्राव भएर गएको थियो।

उनका श्रीमान् भावनात्मक हुँदै आँसु खसालिरहेका बेला सीता र उनको टिमले बीमा रकम हस्तान्तरण गरेका थिए। त्यो क्षण आजसम्म पनि उनले बिर्सिन सकेकी छैनन्।

“श्रीमतीको दुःखद वियोगमा रुँदै गरेका श्रीमानलाई १० लाख हस्तान्तरण गर्दा र बच्चाको १० कक्षासम्मको अध्ययन सुनिश्चित हुँदा बीमा भनेको त धर्म नै रहेछ जस्तो महसुस भयो। हामी सबैका आँखामा आँसु थियो, तर बीमित परिवारले ५० हजारको हाराहारीमा रकम जम्मा गरेकोमा आर्थिक रूपमा १० लाख हस्तान्तरण गर्दा घाउमा मल्हम लगाउने प्रयास गरिरहेका थियौँ। सानो रकम जम्मा गरेको परिवारले ठूलो राहत पाएको देख्दा मलाई लाग्यो, यो काम साँच्चै सामाजिक सेवा रहेछ।” उनले भावुक हुँदै सुनाइन्।

सीतालाई यस्ता अनुभवहरूले बीमा पेशासँग अझ गहिरो प्रतिबद्धताका साथ जोडेको छ।

सीताको सन्देश

सीता भण्डारी बीमालाई केवल आर्थिक साधन नभई जीवनको सुरक्षा कवच मान्छिन्। उनले भनिन्, “मायाले मात्र घर चल्दैन, सुरक्षा र सुनिश्चितताले घर चल्छ। बीमा त्यो सुनिश्चितता हो।”

उनका अनुसार मानिसहरूले स्वस्थ हुँदाको समयमा नै बीमा गर्नुपर्छ, किनकि जोखिम कहिले आउँछ भन्ने निश्चित हुँदैन।

सीता भण्डारीको यो यात्रा सामान्य ग्रामीण परिवेशबाट सुरु भएर आज एक स्थापित बीमा अभिकर्तासम्म पुगेको कथा हो। संघर्ष, निरन्तरता र इमान्दारिताले कुनै पनि पेशामा सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् सीता भण्डारी।