काठमाडौं । कालंगा हाईड्रो लिमिटेडले आगामी जेठ ८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) खुला गर्ने घोषणा गरेको छ। कम्पनीले कुल २८ लाख ७० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर जारी गरी बाँडफाँड गरिसकेको छ। अब दोस्रो चरणअन्तर्गत सर्वसाधारण लगानीकर्तालाई आवेदन दिने अवसर प्रदान गर्न लागिएको हो।

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। बिक्री प्रक्रिया छिटोमा जेठ १३ गतेसम्म रहनेछ भने आवश्यक परेमा जेठ २२ गतेसम्म लम्बिन सक्नेछ।

कम्पनीले प्राप्त गरेको ‘केयर एनपी डबल बी इस्योर’ रेटिङले यसको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्। साथै, मेरो सेयर प्रणाली प्रयोग गरी अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।

यस आईपीओको निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेड ले सम्हालेको छ।