काठमाडौं । व्यवसायी शेखर गोल्छालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पुनः नियन्त्रणमा लिएको छ। धितोपत्रसम्बन्धी मुद्दामा अदालतले ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै उनलाई अर्को मुद्दामा फेरि पक्राउ गरिएको हो।

सोमबार सर्वोच्च अदालत का न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले गोल्छालाई धरौटीमा छाड्ने निर्णय गरेको थियो। अदालतले आवश्यक प्रक्रिया नपुगेको अवस्थामा हिरासतमा राखिएको ठहर गर्दै यसअघिका आदेशहरू समेत खारेज गरेको थियो।

तर उक्त आदेश सार्वजनिक भएको केही समयमै सीआईबीले उनलाई बीमा ऐन, २०७९ अन्तर्गतको फरक अभियोगमा पुनः पक्राउ गरेको हो। अदालतले उक्त ऐनअन्तर्गत पक्राउ अनुमति जारी नभएको र निवेदनमा समेत सो विषय उल्लेख नभएको भन्दै त्यसबारे आदेश दिन आवश्यक नभएको स्पष्ट पारेको थियो।

यसैबीच प्रहरीले सोही प्रावधानलाई आधार बनाउँदै गोल्छालाई फेरि नियन्त्रणमा लिएको हो। यसअघि उनलाई वैशाख १० गते काठमाडौंको नक्साल क्षेत्रबाट पक्राउ गरिएको थियो।