काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रमा देखिएको दलगत प्रभाव अन्त्य गर्न सरकार गम्भीर रहेको बताएका छन्। उनले लामो समयदेखि विद्यार्थी र कर्मचारी संरचनामा पार्टीकरणले प्रणाली कमजोर बनाएको भन्दै अब सुधारको स्पष्ट कदम चालिएको उल्लेख गरेका छन्।
उनका अनुसार, विगतमा विभिन्न विद्यार्थी तथा कर्मचारी संगठनहरूले पेशागत हितभन्दा दलगत स्वार्थलाई प्राथमिकता दिँदा योग्यताको सट्टा पहुँच र राजनीतिक निकटता हाबी भएको अवस्था सिर्जना भएको थियो। यसले राज्य संयन्त्रप्रति जनविश्वास घटाएको उनको भनाइ छ।
शाहले अब शिक्षण संस्था र कर्मचारीतन्त्रलाई दलगत प्रभावबाट मुक्त गर्न आवश्यक निर्णय लिइएको जनाउँदै शिक्षालयमा राजनीतिक झण्डा र कर्मचारीतन्त्रमा दलगत गतिविधि निषेध गरिएको जानकारी दिए। उनले यस्तो कदमले अधिकार नखोस्ने, बरु पेशागत स्वतन्त्रता बलियो बनाउने दाबी गरे।
उनले नियुक्ति, सरुवा र बढुवा प्रक्रियामा अब राजनीतिक पहुँच होइन, योग्यता, क्षमता र दक्षता मुख्य आधार बन्नुपर्नेमा जोड दिए। विद्यार्थीले जिम्मेवार र विचारशील राजनीति सिक्नुपर्ने र कर्मचारीले निष्पक्ष रूपमा जनताको सेवा गर्नुपर्ने उनको धारणा छ।
यो कदम कुनै दलविरुद्ध नभई प्रणाली सुधार र संस्थागत विकासका लागि भएको भन्दै शाहले यसलाई देशको भविष्य सुरक्षित गर्ने प्रयासका रूपमा व्याख्या गरे। साथै, सरकारले अध्यादेशमार्फत यस्ता विकृतिहरू हटाउने काम अघि बढाएको पनि उनले बताए।
अन्त्यमा उनले सरकार जनताको चाहनाअनुसार काम गर्न प्रतिबद्ध रहेको र परिवर्तनका लागि सबैको साथ र विश्वास आवश्यक रहेको बताएका छन्।







