काठमाडौँ। सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेख्य नाफा वृद्धि गरेको छ। सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार कम्पनीले यस अवधिमा ९० करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५०.२० प्रतिशतले बढी हो। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको नाफा ६० करोड ३० लाख रुपैयाँ रहेको थियो।

कम्पनीको बिक्री आम्दानी पनि केही बढेको देखिन्छ। समीक्षा अवधिसम्म कम्पनीले ७ अर्ब ७९ लाख रुपैयाँ बराबरको बिक्री गरेको छ भने अघिल्लो वर्ष यही अवधिमा ६ अर्ब ८१ करोड रुपैयाँ आम्दानी गरेको थियो। यसैगरी अन्य आम्दानी पनि बढ्दै १२ करोड ४८ लाख रुपैयाँबाट १८ करोड ७९ लाख रुपैयाँ पुगेको छ।

खर्च पक्षमा समेत वृद्धि भएको छ। चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीको कुल खर्च ८५ करोड ६१ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यो खर्च ६८ करोड २ लाख रुपैयाँमा सीमित थियो।

५ अर्ब २२ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको रिभ्यालुएसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ। साथै कम्पनीको कुल चालु सम्पत्ति ६ अर्ब १६ करोड रुपैयाँ र कुल चालु दायित्व ५ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

यस अवधिसम्म कम्पनीले ४ अर्ब ४२ करोड रुपैयाँ अल्पकालीन र ६ करोड ४ लाख रुपैयाँ दीर्घकालीन कर्जा लिएको छ।

वित्तीय सूचकहरूतर्फ, समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २३.१२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९५.९६ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३१६.८० रुपैयाँ कायम भएको छ। तरलता अनुपात भने १.१० प्रतिशत रहेको कम्पनीले जनाएको छ।