काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग महिला उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य गर्ने सम्झौता गरेको छ । उक्त सम्झौता ‘बैंकिङ अन वुमन’ पहलअन्तर्गत लैङ्गिक तथ्यांक संकलन तथा व्यवस्थापन प्रणाली सुदृढ गर्ने उद्देश्यले गरिएको हो ।
यो सहकार्य विश्वव्यापी ‘वुमेन इन्टरप्रेन्योर्स फाइनान्स इनिसिएटिभ (We-Fi)’ मार्फत अघि बढाइनेछ, जसले महिला स्वामित्व तथा नेतृत्वमा रहेका साना तथा मझौला उद्यम (एसएमई) हरूलाई वित्तीय पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ ।
सम्झौताअनुसार आईएफसीले बैंकलाई लैङ्गिक आधारमा विभाजित तथ्यांक (सेक्स डिसअग्रिगेटेड डाटा) संकलन, विश्लेषण र उपयोग प्रणाली सुधार गर्न प्राविधिक सहयोग प्रदान गर्नेछ । यसले महिला उद्यमीका आवश्यकता र चुनौती पहिचान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
सम्झौतामा लक्ष्मी सनराइज बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई र आईएफसीका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका हुन् ।
बैंकका अनुसार यस सहकार्यले महिला उद्यमीका लागि लक्षित वित्तीय सेवा विस्तार गर्न सहयोग पुग्नेछ र समावेशी आर्थिक विकासलाई थप मजबुत बनाउनेछ ।







