काठमाडौँ । सरकारले ऊर्जा, कृषि, पूर्वाधार र शासन व्यवस्थासँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण निर्णयहरु गरेको हो ।
सरकारले परम्परागत पोइलरलाई इलेक्ट्रोनिक प्रणालीले प्रतिस्थापन गर्ने, उद्योगहरूलाई कर्जा उपलब्ध गराउने तथा वायु गुणस्तर मापन क्षमता विस्तार गर्ने उद्देश्यका लागि विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र ५ मिलियन डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।
त्यस्तै, कृषि सामग्रीको आपूर्तिलाई सहज बनाउन भारतसँग जी–टु–जी माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिइएको छ ।
सरकारले सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना पनि स्वीकृत गरेको छ, जसमा संसद् भवन परिसरमा प्रवेश व्यवस्थालगायतका विषय समावेश छन् ।
यसैबीच, संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश २०८३ राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको भए पनि सरकारले उक्त अध्यादेश पुनः जारी गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।







