काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनलाई लिएर चुनावी माहोल तातेको छ । वैशाख २१ र २२ गते हुने साधारणसभाले महासंघको नयाँ कार्यसमिति चयन गर्नेछ ।
निर्वाचनमा यसपटक ७३ पदका लागि कुल १३७ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । महासंघका अनुसार २,१५३ जना मतदाता सहभागी हुनेछन्, जसमा एसोसिएट समूहबाट सबैभन्दा बढी प्रतिनिधित्व रहेको छ ।
विद्यमान व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान अनुसार अञ्जन श्रेष्ठ आगामी अध्यक्ष बन्ने निश्चित जस्तै देखिएको छ । तर बाँकी उपाध्यक्ष र अन्य पदका लागि भने मतदानमार्फत प्रतिस्पर्धा हुनेछ ।
निर्वाचन कार्यक्रमअनुसार साधारणसभाको उद्घाटन वैशाख २१ गते ललितपुरस्थित होटल रोयल टुलिपमा हुनेछ भने मतदान प्रक्रिया २२ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न हुनेछ ।
यसपटकको चुनावमा विशेषगरी वरिष्ठ उपाध्यक्ष पदमा कडा प्रतिस्पर्धा देखिएको छ । विभिन्न समूह र प्यानलबीच नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ ।
हेमराज ढकालको नेतृत्वमा छुट्टै प्यानल सक्रिय छ, जसलाई वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र अञ्जन श्रेष्ठ समूहको प्यानलबाट वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघई वा सुरकृष्ण वैद्यमध्ये एक उम्मेदवार बन्ने सम्भावना छ ।
त्यस्तै, अर्को समूहबाट पनि विभिन्न उपाध्यक्ष पदका लागि उम्मेदवारी दिइएको छ, जसले निर्वाचनलाई थप प्रतिस्पर्धात्मक बनाएको छ ।
महासंघको नेतृत्व प्रणालीमा आगामी दिनमा परिवर्तन हुने भएको छ । अब अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने व्यवस्था लागू गरिने तयारी छ, जुन वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको कार्यकालपछि कार्यान्वयनमा आउनेछ ।
नयाँ विधानअनुसार महासंघमा दुई जना वरिष्ठ उपाध्यक्ष रहने र महिला सहभागिता बढाउन थप एक महिला उपाध्यक्षको व्यवस्था पनि गरिएको छ ।







