काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीहरूलाई भय र अन्योलबाट मुक्त भएर आत्मविश्वासका साथ व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन्।

आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको छलफलमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई कमजोर बनाउनु नभई नीतिगत सुधारमार्फत समग्र आर्थिक वातावरणलाई मजबुत बनाउने रहेको स्पष्ट पारे। सुशासनको अभियान सफल बनाउन निजी क्षेत्रको सहकार्य अत्यन्त आवश्यक रहेको उनको भनाइ थियो।

उनले विगतमा राजनीतिक अस्थिरता र विभिन्न शक्ति केन्द्रहरूको दबाबका कारण व्यवसायीहरूले चुनौतीपूर्ण परिस्थितिमा काम गर्नुपरेको उल्लेख गर्दै त्यस्तो अवस्था अब दोहोरिन नदिने प्रतिबद्धता जनाए। व्यवसाय सञ्चालनका लागि राज्यले नीतिगत सुरक्षा सुनिश्चित गर्ने उनको आश्वासन थियो।

लामिछानेले सरकार र निजी क्षेत्रबीच सहकार्यको नयाँ ढाँचा आवश्यक रहेको औंल्याउँदै दीर्घकालीन सुधारमार्फत स्वस्थ र स्थिर आर्थिक प्रणाली निर्माण गर्ने लक्ष्य रहेको बताए।

यद्यपि, अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने गतिविधि, संस्थागत अनियमितता वा अवैध काममा संलग्न हुनेहरूमाथि राज्यले कडा निगरानी र कारबाही गर्ने चेतावनी उनले दिए।

उनले उद्योगी–व्यवसायीलाई आफ्ना गतिविधिको आन्तरिक मूल्यांकन (इन्टरनल अडिट) गर्न सुझाव दिँदै विगतका कमजोरी सुधारेर राज्यसँग सहकार्य गर्न सके आर्थिक सुधारको गति तीव्र हुने बताए।

लामिछानेका अनुसार सरकार निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसार अघि बढिरहेको छ, जहाँ नीतिगत सुधार, सुशासन र आर्थिक स्थायित्वलाई प्राथमिकतामा राखिएको छ। साथै, अब समस्या समाधानका लागि व्यवसायीहरूले राजनीतिक नेताहरूको व्यक्तिगत पहुँच खोज्नुपर्ने अवस्था अन्त्य हुने उनले दाबी गरे।

सरकारले आगामी पाँचदेखि सात वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उनले उक्त लक्ष्य हासिल गर्न निजी क्षेत्रको सक्रिय सहभागिता निर्णायक हुने बताए। लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै उनले निर्धक्क भएर व्यवसाय गर्न आग्रह गरे।