काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले बैंक तथा वित्तीय संस्थाबाट हुने धितोबन्धकी अन्तर्गतको जग्गा रोक्का र फुकुवा प्रक्रिया अब पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत मात्र सञ्चालन हुने व्यवस्था लागू गर्ने भएको छ ।
विभागले बिहीबार सूचना जारी गर्दै सेवा प्रवाहलाई डिजिटल बनाउन तथा प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको जनाएको हो ।
सरकारको शासकीय सुधार कार्यक्रमअन्तर्गत ‘नतिजामुखी प्रशासन’ लागू गर्ने उद्देश्यसहित यो कदम चालिएको विभागले स्पष्ट पारेको छ । नयाँ व्यवस्था लागू भएपछि सेवाग्राहीले जग्गा रोक्का वा फुकुवाका लागि मालपोत कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने छैन ।
यसअनुसार सम्बन्धित बैंक तथा वित्तीय संस्थाले अनलाइन प्रणालीमार्फत नै प्रक्रिया पूरा गर्नेछन्, जसले ऋणी वा जग्गाधनीलाई कार्यालय धाउने झन्झटबाट मुक्त गर्ने अपेक्षा गरिएको छ ।
विभागका अनुसार यो व्यवस्था चरणबद्ध रूपमा लागू हुनेछ । भूमि प्रशासन निर्देशिकाअनुसार तोकिएका बैंक तथा वित्तीय संस्थामा २१ वैशाखदेखि र बाँकी ‘क’, ‘ख’, ‘ग’ तथा ‘घ’ वर्गका सबै बैंक तथा वित्तीय संस्थामा १ जेठदेखि अनलाइन प्रणाली अनिवार्य हुने छ ।
यो प्रणाली लागू भएपछि सेवा छिटो, सहज र बिचौलियामुक्त हुने सरकारको विश्वास छ ।







