काठमाडौं । आन्तरिक उडान सञ्चालन गर्दै आएका निजी वायुसेवा कम्पनीहरूले हवाई इन्धनको मूल्य अत्यधिक बढेकाले सेवा सञ्चालनमै कठिनाइ आएको बताएका छन् । लागत तीव्र रूपमा बढ्दै जाँदा नियमित उडान नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ ।

वायुसेवा सञ्चालक संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेश) लाई पत्र पठाउँदै तत्काल राहत तथा सहुलियतका उपाय अपनाउन आग्रह गरेको छ ।

संघका अनुसार कोरोना महामारी, २३ र २४ भदौको जेनजी आन्दोलन तथा हाल मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य निरन्तर बढिरहेको छ, जसको प्रत्यक्ष असर नेपालका वायुसेवा कम्पनीमा परेको हो ।

इन्धन खर्च बढेसँगै सञ्चालन लागतमा ठूलो वृद्धि भएको र पर्यटक आगमन समेत घटेकाले व्यवसाय थप प्रभावित भएको पत्रमा उल्लेख छ । अहिले कम्पनीहरूको कुल सञ्चालन खर्चमा इन्धनको हिस्सा ५५ देखि ६० प्रतिशतसम्म पुगेको बताइएको छ ।

संघले वायुसेवा कम्पनीहरू आर्थिक दबाबमा परेको भन्दै नागरिक उड्डयन प्राधिकरणले लिने विभिन्न शुल्कहरू—जस्तै ल्यान्डिङ, पार्किङ, नेभिगेसन र ह्यान्डलिङ शुल्क—मा कम्तीमा ५० प्रतिशत छुट दिन माग गरेको छ ।

त्यसैगरी विमानस्थल सेवा शुल्क नियमावली संशोधन गरी दर घटाउनुपर्ने, वायुसेवालाई विशेष उद्योगको रूपमा मान्यता दिँदै आयकरमा २० प्रतिशत छुट दिनुपर्ने प्रस्ताव पनि गरिएको छ ।

साथै, हाल अमेरिकी डलरमा लिइँदै आएको विभिन्न सेवा शुल्कलाई नेपाली रुपैयाँमै तोक्नुपर्ने माग पनि संघले अघि सारेको छ ।