काठमाडौँ । सरकारले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने मार्गमा पर्ने भू–भाग नेपालको रहेको दाबी पुनः दोहोर्याएको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल आफ्नो भूमि अधिकारमा स्पष्ट र प्रतिबद्ध रहेको बताएका छन् ।

हालै भारतले लिपुलेक मार्ग प्रयोग गरी कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने घोषणा गरेपछि नेपालले आपत्ति जनाउँदै कूटनीतिक नोटमार्फत भारत र चीन दुवैलाई उक्त क्षेत्रमा कुनै पनि गतिविधि नगर्न आग्रह गरेको थियो ।

प्रवक्ता पोखरेलका अनुसार नेपाल सरकारले सीमासम्बन्धी विषयमा आफ्नो अडान स्पष्ट रूपमा राखेको छ र यसबारे आवश्यक संवाद कूटनीतिक माध्यमबाट अघि बढाइनेछ । उनले दुवै देशबीच सहकार्यबाट समाधान खोजिनुपर्नेमा जोड दिए ।

यसअघि भारतले यस विषयलाई पुरानै अभ्यासका रूपमा व्याख्या गर्दै यात्राका लागि विभिन्न मार्ग प्रयोग गरिने जनाएको थियो । भारतीय विदेश मन्त्रालयका अनुसार यस वर्ष मानसरोवर यात्राका लागि कुल २० समूह रहनेछन्, जसमा १० समूह उत्तराखण्डको लिपुलेख पास र १० समूह सिक्किमको नाथु ला पास हुँदै यात्रा गर्नेछन् । प्रत्येक समूहमा करिब ५० जना तीर्थयात्री रहने व्यवस्था गरिएको छ ।