काठमाडौँ। भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने मार्गबारे नेपालले उठाएको चासोप्रति प्रतिक्रिया दिँदै उक्त मार्ग नयाँ नभई लामो समयदेखि प्रयोग हुँदै आएको स्पष्ट पारेको छ।
नेपाल सरकारले भारत र चीनबीच उक्त मार्ग सञ्चालन गर्ने सहमतिबारे कूटनीतिक नोट पठाएपछि भारतले औपचारिक रूपमा आफ्नो धारणा सार्वजनिक गरेको हो।
भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले लिपुलेक पास हुँदै हुने कैलाश मानसरोवर यात्रा सन् १९५४ देखि नै सञ्चालनमा रहेको उल्लेख गरे। उनका अनुसार यसलाई नयाँ विषयका रूपमा प्रस्तुत गर्नु उपयुक्त होइन।
भारतले नेपालले दाबी गरेको केही भूभागसम्बन्धी विषयहरू ऐतिहासिक तथ्यमा आधारित नभएको बताउँदै त्यस्ता एकपक्षीय दाबी स्वीकार्य नहुने पनि स्पष्ट पारेको छ।
यद्यपि, सीमा सम्बन्धी विषयसहित द्विपक्षीय सरोकारका सबै मुद्दामा नेपालसँग संवाद र कूटनीतिक माध्यमबाट समाधान खोज्न भारत तयार रहेको पनि जनाएको छ।
यसअघि, आजै नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयले भारत र चीनलाई कूटनीतिक नोट पठाउँदै उक्त विषयमा ध्यानाकर्षण गराएको थियो। सो नोट प्राप्त भएको केही घण्टामै भारतले आफ्नो आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको हो।








