काठमाडौं । झापा इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेखनीय सुधार गर्दै नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा १ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनी १ करोड ३४ लाख ५६ हजार रुपैयाँ घाटामा थियो ।

यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानीमा वृद्धि देखिएको छ । कम्पनीले विद्युत बिक्रीबाट ८ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ करोड ५९ लाख रुपैयाँ थियो ।

तर आम्दानीसँगै सञ्चालन खर्च पनि बढेको देखिन्छ । साधारण खर्च ६३ लाख ९२ हजार रुपैयाँबाट बढेर ९२ लाख ६६ हजार रुपैयाँ पुगेको छ भने प्रशासनिक खर्च ५२ लाख १ हजार रुपैयाँबाट बढेर ६८ लाख १४ हजार रुपैयाँ पुगेको छ ।

यसैबीच कम्पनीले २२ लाख रुपैयाँ बराबरको अन्य आम्दानी पनि गरेको छ ।

कम्पनीको वित्तीय खर्च भने उल्लेखनीय रूपमा घटेको छ । अघिल्लो वर्षको तेस्रो त्रैमासमा ४ करोड १४ लाख रुपैयाँ रहेको वित्त खर्च यस वर्ष घटेर २ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति २ करोड ८१ लाख रुपैयाँ र चालु दायित्व ४ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, कम्पनीको वित्तीय सूचकहरूमा प्रतिसेयर आम्दानी ५.६३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०२.३६ रुपैयाँ, प्रतिसेयर सम्पत्तिको मूल्य २२२.३८ रुपैयाँ तथा तरलता अनुपात ०.६४ प्रतिशत रहेको विवरणमा उल्लेख छ ।