रसुवा । रसुवाको धुन्चे क्षेत्रमा प्रहरीले ठूलो मात्रामा अवैध विद्युतीय चुरोट (भेप) सहित एक कन्टेनर चालकलाई नियन्त्रणमा लिएको छ।
टिमुरेबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ८०२७ नम्बरको कन्टेनर नियमित जाँचका क्रममा रोकिएपछि भित्र लुकाएर राखिएको अवस्थामा ४३६ थान भेप फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गोसाईकुण्ड गाउँपालिका–६ स्थित अस्थायी प्रहरी पोस्ट धुन्चेबाट खटिएको टोलीले उक्त कन्टेनर खानतलासी गरेको थियो। भन्सार पास भई सिल गरिएको कन्टेनरको अगाडिको क्याबिन भागमा लुकाइएका ‘ELFBAR (30K puffs)’ ब्रान्डका भेप बरामद गरिएको हो।
अवैध सामान ओसारपसारमा संलग्न रहेको आरोपमा आमाछोदिङमो गाउँपालिका–५ का ३४ वर्षीय चालक रवीन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद गरिएको भेप तथा कन्टेनरको कुल अनुमानित बजार मूल्य करिब ३५ लाख ९० हजार रुपैयाँ रहेको बताइएको छ।
पक्राउ परेका चालकलाई बरामद सामग्री र गाडीसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको प्रहरीले जनाएको छ।







