काठमाडौँ । सरकारले विद्युतीय चुरोट (भेप) मा प्रतिबन्ध लगाउने प्रक्रियाको थालनी गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयसँग आग्रह गरेको हो ।
केन्द्रका निर्देशक केशवराज पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,भन्सार विभाग र वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई विद्युतीय चुरोटको उपभोग गर्न नपाउने व्यवस्था कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन् ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २८ को उपदफा ४ मा ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन,आयात, बिक्री वितरण, सार्वजनिकस्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चारमाध्यमबाट प्रवद्र्धन तथा विज्ञापन गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेकाले सोही कार्यान्वयन गर्नका लागि पत्राचार गरिएको पण्डितको भनाई छ ।
केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्तबहादुर केसीले अर्थ र सञ्चारमन्त्रायले निर्देशिकामा भएको कुरालाई कार्यान्वयन गर्नसाथ विद्युतीय चुरोटको नेपालबाट प्रतिबन्ध हुने जानकारी दिएका छन् । कतिपयले चुरोटको सेवन छाड्नका लागि विद्युतीय चुरोटको सेवन गर्ने गरेको भन्दै चुरोट जतिकै विद्युतीय चुरोटले पनि स्वास्थ्यमा हानी गर्ने जानकारी दिएका छन् । ।







