काठमाडौँ। बीमा आजको महँगो र अनिश्चितताले भरिएको युगमा विकल्प होइन,अपरिहार्य आवश्यकता बनिसकेको छ।

“किन बीमा गर्ने ?” भन्ने बहसभन्दा पनि “बीमा नगर्दा के गुम्छ ?” भन्ने प्रश्नले अहिले समाजमा बढी स्थान लिन थालेको छ। तर विडम्बना, बदलिँदो समयको यही यथार्थलाई स्पष्ट रूपमा बुझाउन नसक्दा बीमाप्रति जनमानसमा अझै पनि पूर्ण विश्वास र सकारात्मक धारणा निर्माण हुन सकेको छैन।

यही चुनौती र अवसरको संगमलाई आत्मसात गर्दै, बीमाको वास्तविक अर्थ र यसको महत्वलाई गाउँ–गाउँ, घर–घरमा पुर्‍याउने अठोट बोकेका अभिकर्ता हुन् लेखराज राई।

ओखलढुंगाको माटोमा जन्मिएका उनी उमेरले युवा भए पनि सोचले परिपक्व र लक्ष्यमा अडिग छन्। कालो कपाल,खाइलाग्दो जिउँडाल र फुर्तिलो शरीरसँगै उनीभित्रको आत्मविश्वास झन् झल्किन्छ।

आजका धेरै युवाहरू आकर्षक भविष्यको खोजीमा विदेशिन बाध्य भइरहेका बेला लेखराजले भने आफ्नै देशमा सम्भावना देखेका छन्, र त्यही सम्भावनालाई बीमा अभिकर्ता पेशामार्फत वास्तविकतामा रूपान्तरण गर्ने यात्रामा छन्।

उनी भन्छन्, “बीमा केवल कागजी सम्झौता होइन,भविष्य सुरक्षित गर्ने आधार हो।” यही सोचका साथ उनी बीमाप्रतिको भ्रम चिर्दै, विश्वास निर्माण गर्ने अभियानमा निरन्तर अघि बढिरहेका छन्।

यसरी सुरु भयो लेखराजको अभिकर्ता यात्रा

बीमा यात्रामा लेखराजको यात्रा भने निकै रोचक छ । लेखराजका लागि काठमाडौँ आउन पाउनु नै ठूलो कुरा थियो ।

ओखलढुंगाको मानेभन्ज्याङ स्थित दुर्गम गाउँमा जन्मिएका उनी शहरमा आउने बित्तिकै सहजै रूपमा स्तरीय जागिर पाइन्छ, मनग्य आम्दानी हुन्छ भन्ने लागेको थियो । तर शहर त्यस्तो हुँदैन रहेछ ।

सहकारी क्षेत्रका काम गरिरहेका उनी एक दिन आफ्नो मन पर्ने साथीसँग भेटिए जसले उनको यात्रा बिस्तारै बीमा क्षेत्रमा मोड्न प्रेरित गरे । उनका साथीको माध्यमबाट लेखराज सन नेपाल लाइफ इन्स्योरेन्समा जोडिए।

यस्तो छ लेखराजको संघर्षदेखि सफलताको कथा

लेखराज अहिले सन नेपाल लाइफ इन्स्योरेन्स मार्फत एमडिआरटी भइसकेका छन् । लेखराजको जिन्दगी हेर्दा आहा लाग्दो छ तर उनले बीमा क्षेत्रमा आउनु अगाडिका दिनमा गरेको संघर्ष भने सामान्य छैन । उनले गरेको संघर्ष र आजको सफलताले जोकोहीलाई सकारात्मक प्रेरणा दिन्छ ।

उनी आज दैनिक रूपमा सयौँ मान्छेसँग भेटघाट गर्छन्, बीमाको सन्दर्भमा साथीभाइसँग कुराकानी गर्छन् तर उनको सुरुवाती दिनहरू भने सामान्य थिएनन् । तर उनको साहस नै उनको सफलताको मार्गदर्शक भएको उनको भनाई छ ।
बीमाको पहिलो दिनको यात्रा

लेखराज आज सन नेपाल लाइफ इन्स्योरेन्समा एमडिआरटीको रूपमा स्थापित भइरहँदा १ वर्षको अन्तरालमै उनले प्राप्त गरेको सफलता भने सामान्य होइन, विभिन्न चरणहरू पार गर्दै वर्षौँको प्रयासपछि प्राप्त हुने उपाधि उनले छोटो समयमै हासिल गर्नुको खास कारण नै आफ्नो आत्मविश्वास र निरन्तरको प्रयास भएको उनको भनाई छ।

लेखराज भर्खरको तन्नेरी छन् । उनले आफ्नो भविष्य यहीँ पेशामा रहेको दाबी गरिरहेका छन् । अभिकर्ता पेशा उनका लागि अब अनिवार्यतासँग जोडिएको छ ।

नेपालमा बीमा क्षेत्रको इतिहास धेरै पुरानो भने होइन यद्यपि बीमालाई अहिले पनि आवश्यकताको रूपमा नभएर खर्चको रूपमा हेर्नेको संख्यमा कमी छैन । तर यी भ्रमलाई चिर्न लेखराज भने आफू निरन्तर प्रयासमा रहेको बताउँछन् ।

लेखराज राईको यात्रा केवल व्यक्तिगत सफलताको कथा होइन, बीमाप्रतिको सोच परिवर्तन गर्ने अभियान पनि हो। संघर्ष, आत्मविश्वास र निरन्तर मेहनतमार्फत उनले छोटो समयमै आफूलाई सफल अभिकर्ताका रूपमा स्थापित गरेका छन्।

आज धेरै युवाहरू विदेशमा भविष्य खोजिरहेका बेला लेखराजले आफ्नै देशमा अवसर सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्।

बीमालाई खर्च होइन, भविष्य सुरक्षित गर्ने माध्यमका रूपमा स्थापित गर्न उनको प्रयासले समाजमा सकारात्मक सन्देश दिएको छ। आउने दिनमा यस्ता युवा अभिकर्ताको सक्रियताले बीमा क्षेत्रप्रतिको जनविश्वास अझ बलियो बन्ने अपेक्षा गर्न सकिन्छ।