काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले विद्यार्थी लक्षित निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ । पाल्पाको राम माध्यमिक विद्यालय, बगनासकालीमा आयोजित उक्त शिविरमा करिब २०० विद्यार्थीको आँखाको परीक्षण गरिएको हो ।

शिविरका क्रममा विद्यार्थीहरूले आफ्नो दृष्टि परीक्षण गराउनुका साथै आवश्यक स्वास्थ्य परामर्शसमेत प्राप्त गरेका थिए । आयोजकका अनुसार कार्यक्रमले बालबालिकामा आँखा स्वास्थ्यप्रति सचेतना बढाउन सहयोग पुर्‍याएको छ ।

कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स पाल्पा शाखा प्रमुख सुवास गैरेले विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिइने बताए ।

त्यसैगरी सामाजिक अभियन्ता सुशिल बस्यालले स्वस्थ दृष्टि नै उज्ज्वल भविष्यको आधार हुने भन्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने धारणा राखे । समाजसेवी गोपाल बस्यालले पनि कार्यक्रम उपयोगी रहेको उल्लेख गर्दै आयोजकलाई धन्यवाद दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको समेत सहभागिता रहेको उक्त कार्यक्रमलाई विद्यालयले आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने आवश्यकता रहेको जनाएको छ ।

“स्वस्थ दृष्टि, उज्ज्वल भविष्य” भन्ने नारासहित सञ्चालन गरिएको शिविरले विद्यार्थीहरूको स्वास्थ्य सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।