काठमाडौँ । घर निर्माणसँग सम्बन्धित प्रदर्शनी ‘घर निर्माण फेस्ट २०८३’ आगामी पुस ९ देखि १२ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । ‘घर निर्माण फाउन्डेसन’को आयोजनामा हुने यो फेस्ट यस वर्ष पनि निर्माण क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याउने उद्देश्यले सञ्चालन गर्न लागिएको हो ।

आयोजकका अनुसार फेस्टमा १५० भन्दा बढी स्टल रहनेछन् । निर्माण क्षेत्रमा संलग्न कम्पनी तथा संस्थाहरूले आफ्ना उत्पादन, सेवा र सामग्री प्रदर्शनीमार्फत उपभोक्तासमक्ष प्रस्तुत गर्न सक्नेछन् । स्टल बुकिङ खुला गरिएको र इच्छुक संस्थाले फाउन्डेसनको बबरमहलस्थित कार्यालयमार्फत सम्पर्क गर्न सक्ने जनाइएको छ ।

फेस्टलाई निर्माण क्षेत्रको बजार विस्तार, दक्ष जनशक्ति र व्यवसायबीच सम्बन्ध सुदृढ गर्ने तथा आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले आयोजना गरिएको हो । साथै, आधुनिक निर्माण प्रविधि र सामग्रीबारे जानकारी प्रदान गर्ने लक्ष्य पनि राखिएको छ ।

यसअघि सम्पन्न संस्करणमा करिब ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका थिए भने १३५ स्टलमार्फत करिब ३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको आयोजकको दाबी छ ।

चार दिनसम्म चल्ने फेस्टमा निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट तथा विज्ञहरूसँग प्रत्यक्ष छलफल, परामर्श र अनुभव आदानप्रदानको अवसर रहनेछ । अवलोकनकर्ताले लागत, गुणस्तर, डिजाइन र नयाँ प्रविधिबारे निःशुल्क जानकारी लिन सक्नेछन् ।

आयोजकका अनुसार फेस्टले निर्माण क्षेत्रमा नवप्रवर्तन प्रवर्द्धन गर्ने, ब्रान्डिङ अवसर विस्तार गर्ने तथा गुणस्तरीय निर्माणका अभ्यासबारे सचेतना बढाउने अपेक्षा गरिएको छ ।