काठमाडौँ। नयाँ सरकार गठनपछि आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को दोस्रो बैठक बस्न लागेको छ। उक्त बैठकमा नेपाल राष्ट्र बैंकमा खाली रहेका दुई डेपुटी गभर्नर पदमा नियुक्ति गर्ने विषय प्राथमिकतामा पर्ने सम्भावना छ।

पछिल्ला तीन सातादेखि डेपुटी गभर्नर पद रिक्त रहँदा मौद्रिक नीति निर्माण, बैंकिङ नियमन तथा समग्र वित्तीय स्थायित्वमा असर परेको बताइएको छ।

यसै सन्दर्भमा आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल बीच छलफल भएको थियो। सोही क्रममा गभर्नरले डेपुटी गभर्नर नियुक्तिका लागि सम्भावित नामहरू सिफारिस गरिसकेको स्रोतले जनाएको छ।

यसबाहेक, आजको मन्त्रिपरिषद् बैठकबाट अन्य केही महत्वपूर्ण पदहरूमा पनि नियुक्ति हुन सक्ने अनुमान गरिएको छ। महान्यायाधिवक्ता तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष चयन हुने सम्भावना समेत औंल्याइएको छ।