काठमाडौं । सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकका निर्णयहरू सरकारका प्रवक्ता तथा ओमप्रकाश अर्यालले जानकारी दिएका हुन्।
उनका अनुसार बैठकले भदौ २३/२४ मा भएका घटनासम्बन्धी छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। आयोगले बुझाएको प्रतिवेदनको विस्तृत अध्ययन गरी आवश्यक निर्णय लिने गरी मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन ग्रहण गरेको हो।
त्यसैगरी बैठकले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्तिका लागि नेपाल सरकारमार्फत राष्ट्रपति कार्यालयसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।
बैठकले युद्ध प्रभावित पश्चिमी एसियाली मुलुकहरूमा रहेका तथा ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकहरूको उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित कूटनीतिक नियोगहरूलाई सक्रिय बनाउन निर्णय गरेको छ। यसका लागि रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, मनमा, मस्कट, इस्लामाबाद, काइरो र तेल अबिबस्थित नेपाली राजदूतावास तथा जेद्दा र दुबईस्थित नेपाली महावाणिज्य दूतावासमार्फत आवश्यक समन्वय र व्यवस्थापन मिलाइने निर्णय गरिएको छ।
यसैबीच मन्त्रिपरिषद्ले नेपालका हिमनदी बेसिन क्षेत्रमा हुने हिमताल विस्फोटजन्य बाढी तथा जलवायु परिवर्तनका कारण उत्पन्न हुने बाढी जोखिम न्यूनीकरण गर्नका लागि अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ। बैठकले हरित जलवायु कोषमार्फत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमबाट प्राप्त हुने २ करोड ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो।







