काठमाडौँ। बैंकिङ क्षेत्रमा बढेको निक्षेपका कारण अधिक तरलता कायम हुँदा अन्तरबैंक कारोबार घट्न गएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको सात महिना (साउन–माघ) सम्म १० खर्ब ४० अर्ब एक करोड रुपैयाँ बराबरको अन्तरबैंक कारोबार भएको छ । यसमध्ये वाणिज्य बैंकहरूबीच नौ खर्ब ३७ अर्ब ८१ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूले एक खर्ब दुई अर्ब २० करोड रुपैयाँ कारोबार गरेका छन् ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो कारोबार १८ खर्ब रुपैयाँले कमी हो ।गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको अन्तरबैंक कारोबार २५ खर्ब ९६ अर्ब १८ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूको दुई खर्ब ७६ अर्ब २६ करोड गरी कुल २८ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ थियो ।
बैंक तथा वित्तीय संस्थाहरूबिचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०८० माघमा तीन दशमलव शून्य चार प्रतिशत रहेकोमा २०८१ माघमा तीन प्रतिशत छ । अन्तरबैंक कारोबार रकम घटेसँगै यस्तो कारोबारको ब्याजदर पनि घटेको छ ।
राष्ट्र बैंकका अनुसार २०८१ माघमा वाणिज्य बैंकहरूको औसत आधार दर छ दशमलव ४६ प्रतिशत, विकास बैंकहरूको आठ दशमलव ५२ प्रतिशत र फाइनान्स कम्पनीहरूको नौ दशमलव ३९ प्रतिशत रहेको छ ।
२०८१ माघमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर चार दशमलव ६२ प्रतिशत, विकास बैंकहरूको पाँच दशमलव ४१ प्रतिशत र फाइनान्स कम्पनीहरूको छ दशमालव ४७ प्रतिशत रहेको छ । २०८० माघमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर सात दशमलव एक प्रतिशत, विकास बैंकहरूको आठ दशमलव २६ प्रतिशत र फाइनान्स कम्पनीहरूको नौ दशमलव ४५ प्रतिशत कायम भएको थियो ।
त्यस्तै, यस अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल शाखा संख्या ११ हजार पाँच सय नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ माघ मसान्तसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी र ५२ वटा लघुवित्त वित्तीय संस्थाको कुल शाखा संख्या ११ हजार पाँच सय ४० पुगेको हो । जसमध्ये वाणिज्य बैंकहरूको पाँच हजार ७८, बिकास बैंकहरूको एक हजार एक सय ३२, फाइनान्स कम्पनीहरूको दुई सय ९१ र लघुवित्त वित्तीय संस्थाहरूको पाँच हजार ३९ छ ।







