काठमाडौँ । साताको तेस्रो कारोबारका दिन आज शेयर बजारमा सामान्य अंकको सुधार आएको छ । लगातार पाँच दिनको ओरालो लागेको शेयर बजारमा आज ब्रेक लागेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२६ अकंले बढेर २६१४.६७ बिन्दुमा कायम भएको छ। आज ३१८ कम्पनीको २ करोड ५ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७४ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ।

आज पाँच उपसूचकमा बढोत्तरी आएको छ । आठ उपसूचक राताम्य भएको छ ।  आज १२० कम्पनीको शेयर मूल्य बढ्दा १२६ कम्पनीको घटेको छ । नेप्से सूचक लामो समयदेखि स्थिर अवस्थामा रहँदै आएको छ, जसको प्रमुख कारण लगानीकर्ताको मनोबल कमजोर हुनु हो ।

गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ, सरकार परिवर्तनको अड्कलबाजी र नीतिगत अस्पष्टताका कारण बजारले स्पष्ट दिशा लिन सकेको छैन । लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा छन्, किनभने उनीहरू समग्र निजी क्षेत्रमैत्री र पुँजी बजारप्रति लचक नीति लिने गभर्नरको अपेक्षामा छन् ।

बजार निकै लामो साइडवेजमा गएको छ । समग्र समूह र सूचकले गति लिन सकेको छैन । यद्यपि, यसबिचमा पनि केही समूहका कम्पनीहरूमा भने राम्रो गतिशीलता देखिएको छ । पछिल्ला केही दिनहरूमा हाइड्रोपावर समूहका केही कम्पनीहरूमा राम्रो सुधार देखिएको छ । तर केही कम्पनी मात्र बढ्दा समग्र लगानीकर्ताले भने बजार बढेको अनुभूति गर्न भने पाएका छैनन् ।