काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानी कर्ताहरूलाई आकर्षित गर्न सके मात्रै देशको अर्थतन्त्रले लय छोप्न सक्ने बताएका छन् ।
आइतबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०८२/०८३ को पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन । उनले अर्थतन्त्रलाई लयमा फर्काउन निजी क्षेत्रको मनोबल बढाउनुपर्ने र रोजगारी सिर्जनासँगै लगानीकर्तालाई आकर्षित गर्न जरुरी रहेको बताएका हुन्।
वर्तमान सरकार निजी क्षेत्रका कुरा सुन्न र निजी क्षेत्रका समस्या समाधान गर्नमा गम्भीर रहेको अर्थमन्त्री पौडेलको भनाई छ। उनले वर्तमान सरकार निर्माण भएसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आर्थिक सुधार सुझाव आयोग गठन गरेर अर्थतन्त्रका समस्या समाधान गर्ने प्रयास गरेको धारणा राखेका छन्।
उनले अध्यादेशमार्फत विधेयक ल्याएर अर्थतन्त्रमा देखिएका समस्या समाधानको पहल गरेको उल्लेख गरे । अर्थतन्त्र चलायमान बनाउन बजेटबाट गर्न सकिने सम्बोधन बजेटका माध्यमबाट र कानुनका माध्यमबाट सम्बोधन गर्न सकिने विषयहरू कानून निर्माण गरेर वा संशोधनका माध्यमबाट गर्ने बताए ।
पौडेलले भने ‘अहिलेको सरकार निजी क्षेत्रका कुरा सुन्नका लागि, निजी क्षेत्रका समस्या समाधान गर्नका लागि व्यग्र छ । सरकार बने लगत्तै अर्थतन्त्रमा जुन किसिमको शिथिलताको स्थिति छ, यो शिथिलतालाई चिर्ने, बाहिर निस्किने र चलायमान बनाउने कसरी रु भनेर छलफल गरेका थियौँ । छलफलका क्रममा के महसुस गर्यौँ भने हामीसँग केही यस्ता कानूनी व्यवधानहरू छन्, ति व्यवधान नपन्छाई निजी क्षेत्रलाई उत्साह भर्न सकिँदैन भन्ने ठम्याइका आधारमा केही कानून अध्यादेशका मार्फतबाट सम्बोधन गर्ने कोसिस गरेका छौँ ।







