काठमाडौँ । ४ वर्ष बैंक अफ द इयरबाट सम्मानित एनएमबि बैंकले जगेडा कोषको आकार पछिल्लो ५ वर्षमा करिब साढे २ गुणाले बढेको छ । आव २०७७-७८ मा ५ अर्ब १० करोड रहेको यस बैंकको जगेडा कोष अहिले बढेर १२ अर्ब ३२ करोड ५५ लाख पुगेको छ । चुक्ता पुँजीको वृद्धि दर भन्दा जगेडाको वृद्धि दर अत्यधिक हो ।

एनएमबि बैंकले सस्टेनेवल बैंकिङ अर्थात, दिगो बैंकिङको अवधारणा ल्याएको छ । यसले वातावरणीय, सामाजिक र सुशासनको प्रभावलाई ध्यानमा राख्दै बैंकिङ सञ्चालन र व्यवसायिक गतिविधिहरुको रणनीतिक योजना र कार्यान्वयन समावेश गर्दछ ।

सन् २००८ मा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको वित्तीय संस्थाको रुपमा इजाजतपत्र प्राप्त एनएमबी नेपाली वित्तीय बजारमा लामो समयदेखि सञ्चालमा आएको बैंक हो । यो बैंकिङ क्षेत्रको अग्रणी वाणिज्य बैंकहरुमध्येको एक पनि हो । यसले आफ्ना ग्राहकहरुको सुविधालाई सहज बनाउदै देशभर २०० भन्दा धेरै शाखा कार्यालयबाट सेवा दिँदै आइरहेको छ ।

यता, बैंकले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुसँग मिलेर ६ करोड डलर बराबरको हरित बॉन्ड जारी गर्न सफल भएको छ । यस पहलले नेपालमा नवीकरणीय ऊर्जा, सौर्य, जलविद्युत, इलेक्ट्रिक भेहिकल्स जस्ता वातावरणमैत्री परियोजनामा लगानीलाई तीव्रता दिएको छ ।

 चुक्ता पुँजी, जगेडा कोष र रिटेन्ड अर्निङ

एनएमबि बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ बराबर रहेको छ । बैंकको पुँजी ४ वर्षदेखि स्थिर छ । तर, व्यापारमा भने लगातार जस्तो वृद्धि देखिएको छ ।

पुँजी नबढेपनि यस बैंकको जगेडा कोष भने ५ वर्षमा दुई गुणा भन्दा धेरैले बढेको छ । २०७७-७८ मा ५ अर्ब १० करोड रहेको जगेडा कोषको आकार अहिले बढेर १२ अर्ब ३२ करोड ५५ लाख पुगेको छ । हरेक वर्ष बैंकको जगेडा कोष करिब २ अर्बले बढेको छ ।

गत वर्षको असारसम्म एनएमबिको सञ्चित नाफा १ अर्ब ९० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको सञ्चित नाफा ऋणात्मक थियो । यो सञ्चित नाफाबाट बैंकले १०.४० प्रतिशतसम्म लाभांश दिन सक्छ ।

निक्षेप संकलन र कर्जा प्रवाह

बैंकले असारसम्म २ खर्ब ८० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ । ५ वर्ष अगाडि बैंकले १ खर्ब ६४ अर्ब रकम निक्षेप संकलन गरेको थियो ।

यता, बैंकले गत वर्ष २ खर्ब २९ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । पछिल्लो ५ वर्षको तथ्यांक अनुसार यस बैंकको निक्षेप संकलन र कर्जा प्रवाह आक्रामक तरिकाले बढेको छ । संस्थाले अन्य बैंक तथा वित्तीय संस्थालाई १० अर्ब ५१ करोड कर्जा दिएको रिपोर्टमा उल्लेख छ ।

नाफा र खुद ब्याज आम्दानी

यस बैंकले १२ महिनामा ८ अर्ब २ करोड ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष बैंकले ७ अर्ब २१ करोड आम्दानी गरेको थियो । खुद ब्याज आम्दानी बढेसँगै नाफामा पनि सुधार आएको हो । यता, इम्पेयरमेन्ट चार्ज पनि घटेको छ । त्यस्तै, बैंकले गत असारसम्म ३ अर्ब २८ करोड १७ लाख नाफा कमाएको छ । अघिल्लो वर्ष यस बैंकले २ अर्ब २४ करोड कमाएको थियो । वित्तीय रिपोर्ट अनुसार एनएमबिको नाफामा व्यापक सुधार देखिएको छ ।

प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ

गत वर्षको असारमसान्तसम्म आइपुग्दा एनएमबि बैंकको प्रतिशेयर आम्दानी १७.८७ रुपैयाँ पुगेको छ । यता, प्रतिशेयर नेटवर्थ भने १७६.८१ रुपैयाँ छ । बैंकको प्रतिशेयर आम्दानी हरेक वर्ष १० रुपैयाँ भन्दा धेरैको देखिएको  छ ।

लाभांश

एनएमबि बैंकले ११ वर्षमा शेयरधनीलाई औसत १७.२३ प्रतिशत लाभांश वितरण गरेको छ । तथ्यांक अनुसार बैंकले अधिकांश वर्ष दोहोरो अंकमा लाभांश दिंदै आएको छ । गत वर्षको नाफाबाट बैंकले १०.४० प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता छ ।

एनएमबि बैंकले समयानुकूल डिजिटल सेवा विस्तारमा पनि अग्रणी भूमिका खेलेको छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर भुक्तानी, कार्ड सेवा, र डिजिटल कर्जा प्रवाह जस्ता सुविधा प्रदान गर्दै यसले ग्राहक–मैत्री सेवा विस्तार गरेको छ ।

बैंकले हरित उर्जा र दिगो विकासलाई प्राथमिकता दिएर राष्ट्रिय अर्थतन्त्रलाई नयाँ दिशा पनि दिइरहेको छ ।

एनएमबि बैंक लिमिटेडले आफ्नो दीर्घकालीन अनुभव, व्यापक शाखा नेटवर्क र अन्तर्राष्ट्रिय साझेदारी मार्फत नेपालको बैंकिङ क्षेत्रमा सशक्त उपस्थिति बनाएको छ । बैंकको व्यवस्थित स्वामित्व संरचना र भौगोलिक पहुँचले बैंकलाई स्थिर, भरोसायोग्य र दीगो विकासमुखी संस्थाको रुपमा प्रस्तुत गरेको छ । एनएमबिको एनपीएल ३.७२ प्रतिशत छ । रिटन अन इक्विटी १०.६६ प्रतिशत छ ।