काठमाडौँ । नेपाल बीमा प्राधिकरणले  ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ। जीवन, निर्जीवन, लघु तथा पुनर्बीमा कम्पनीहरूका वित्तीय स्रोतहरूको लगानी दायरा विस्तार गर्दै प्राधिकरणले भदौ १७ गते स्वीकृत गरी यो निर्देशिका लागू गरेको हो।

निर्देशिका अनुसार, जीवन बीमा तथा लघु जीवन बीमा कारोबार गर्ने बीमकहरूले आफ्नो प्रत्येक पोर्टफोलियो अन्तर्गतको जीवन बीमा कोष, प्रिमियम तथा अन्य आम्दानीबाट प्राप्त रकमको लगानी र सम्पत्तिको व्यवस्थापन अलग–अलग गर्नुपर्नेछ।

त्यस्तै, बीमकले हरेक पोर्टफोलियो तथा शेयर धनी कोषबाट लगानी तथा खरिद गरिएका सम्पत्तिहरूको लेखांकन पनि पृथक् रूपमा गर्नुपर्ने व्यवस्था गरिएको छ।बीमकहरूले आफ्नो कोषमा रहेको रकममध्ये नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकमा मुद्दती निक्षेप गरेका रकमहरू बीमा प्राधिकरणको नाममा एअरमार्क गर्नुपर्ने प्रावधान पनि निर्देशिकामा समावेश गरिएको छ।

बीमा कम्पनीहरूलाई संशोधित निर्देशिकाले नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको बचत पत्र वा ऋणपत्रमा कुल लगानीको ३५ प्रतिशतसम्म लगानी गर्न दिने व्यवस्था गरेको छ। यसअघि यस क्षेत्रमा २५ प्रतिशत मात्रै लगानी गर्न पाइने व्यवस्था कायम थियो ।