काठमाडौँ । हालै देशव्यापी आन्दोलन र प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको छ। यस परिस्थितिबाट प्रभावित सम्पूर्ण परिवारप्रति नाडा (अटोमोबाइल्स एशोसिएशन अफ नेपाल) ले गहिरो समवेदना व्यक्त गरेको छ।

संघले जीवन गुमाउने पीडादायी घटनाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, दिवंगत आत्माको चिरशान्ति र घाइते नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

नेपालको अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला मानिन्छ। तर हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको छ। कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षा चिन्ताको विषय बनेको छ। साथै, वर्तमान परिस्थितिले उपभोक्ता विश्वासमा नकारात्मक प्रभाव पार्दै, दीर्घकालीन लगानी र रोजगारीका अवसरमा चुनौती थपेको छ।

नाडाले सबै जटिल समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिमार्फत सम्भव हुने विश्वास व्यक्त गरेको छ। साथै,सम्पूर्ण व्यवसायिक समुदायको सुरक्षा सर्वोच्च प्राथमिकतामा राख्दै,अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन सरकारसँग आवश्यक सहयोग र सहजीकरणको माग गरेको छ।

नाडाले आफ्नो सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास र देशको अटोमोबाइल उद्योगको सुरक्षा कायम राख्न निरन्तर खटिने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।