काठमाडौं। हालसालै बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा एकैदिन १७ अर्ब रुपैयाँले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ ३० गते सोमबारसम्म कुल निक्षेप ७३ खर्ब ६ अर्ब रुपैयाँमा सीमित रहेकोमा भदौ ३१ गते मंगलबारसम्म बढेर ७३ खर्ब २३ अर्ब रुपैयाँ पुगेको हो।

यस अवधिमा वाणिज्य बैंकहरूको मात्रै निक्षेप ६५ खर्ब ७३ अर्ब रुपैयाँमा पुगेको छ। यो वृद्धि मुख्यतः चाडपर्व नजिकिँदै गर्दा आम सर्वसाधारणले नगद भन्दा बैंकमा रकम राख्ने प्रवृत्ति र केही सरकारी भुक्तानीले गरेको प्रभावका कारण भएको अनुमान गरिएको छ।

कर्जा प्रवाहमा सामान्य वृद्धि

निक्षेप वृद्धि भए तापनि कर्जा विस्तार भने न्यून दरमै भएको देखिन्छ। सोमबारसम्म बैंकिङ्ग प्रणालीको कर्जा ५६ खर्ब २५ अर्ब रुपैयाँ रहेकोमा मंगलबारसम्म बढेर ५६ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ। यसले एक दिनमा जम्मा २ अर्ब रुपैयाँको मात्र कर्जा विस्तार भएको संकेत गर्दछ।

त्यसमध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ५० खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ। समिक्षा अवधिमा बैंकहरूको औसत सीडी (कर्जा- निक्षेप) अनुपात पनि घट्दै ७५.८९ प्रतिशतमा सीमित भएको छ। सीडी रेसियो ९० प्रतिशत भन्दा तल रहेकाले बैंकहरूले थप कर्जा प्रवाह गर्न सक्ने क्षमता भएको देखिन्छ।

अन्तर बैंक ब्याजदर स्थिर

यसैबीच अन्तर बैंक बजारमा ब्याजदर २.७५ प्रतिशतमा कायम भएको छ। यसले हाल बैंकिङ्ग प्रणालीमा तरलता सहज रहेको संकेत गर्ने विज्ञहरुको भनाई छ । एकैदिन ठूलो मात्रामा निक्षेप वृद्धि हुनु सकारात्मक देखिए पनि कर्जा प्रवाहमा भने खासै वृद्धि नभएकोले लगानी विस्तारमा चुनौती कायम नै रहेको विश्लेषकहरूको भनाइ छ।