काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले ८८ दिन अवधिको निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्न लागेको जनाएको छ।

केन्द्रीय बैंकका अनुसार उक्त उपकरणको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। साँवा तथा ब्याज भुक्तानी २०८३ साल जेठ १० गते एकमुष्ट रूपमा गरिनेछ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम कुल आह्वान रकमसम्म बोलपत्र पेश गर्न सक्नेछन्।

बोलपत्र ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। एउटै संस्थाले फरक–फरक ब्याजदर उल्लेख गरी बहुबोलकबोल गर्न समेत सक्नेछन्। निक्षेप संकलनको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलवालालाई पहिलो प्राथमिकतामा राखी क्रमशः आह्वान गरिएको ४० अर्ब रुपैयाँसम्म विनियोजन गरिने केन्द्रीय बैंकले स्पष्ट पारेको छ।

साथै, निक्षेप संकलन उपकरणमार्फत लगानी गरिएको रकम सम्बन्धित बोलवालाको स्वामित्वमा रहने भए पनि उक्त रकम अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइने छैन। केन्द्रीय बैंकको यो कदम बैंकिङ प्रणालीमा विद्यमान अधिक तरलता व्यवस्थापन तथा मौद्रिक नीतिको कार्यान्वयनलाई सन्तुलित बनाउन लक्षित रहेको छ।