काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ३२ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो नाफा गत आवमा आर्जन गरेको तु्लनामा ३.७११ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले ३ अर्ब ४५ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
यस्तै बैंकले ४ अर्ब ४ करोड रुपैयाँबराबरको वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.०५ प्रतिशतले बढी हो ।
यस समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.३३ प्रतिशतले बढ्दै ६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । यस्तै खुद शुल्क तथा कमिशन आम्दानी पनि १ अर्ब ९ करोडबाट बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।
१३ अर्ब ७२ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ ४ अर्ब ४ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १५ अर्ब ५० करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने बैंकको रिजर्भमा १३ अर्ब ८६ करोड सञ्चित रहेको थियो ।
बैंकको कस्ट अफ फण्ड अघिल्लो वर्षको ४.११ प्रतिशतबाट घटेर ३.३१ प्रतिशतमा सीमित बनेको छ भने आधार दर ५.४५ प्रतिशतबाट घटेर ४.५७ प्रतिशतमा आइपुगेको छ ।
यस अवधिमा बैंकको कर्जाको अनुपात घटेर ०.६१ प्रतिशतमा सीमित बन्न पुगेको छ ।अघिल्लो वर्ष कर्जाको अनुपात ०.६४ प्रतिशत रहेको थियो।
समिक्षा अवधिमा बैंकले अघिल्लो वर्ष यही अवधिमा १५.८२ प्रतिशत रहेको रिटर्न अन इक्वीटी(आरओई) घटेर यो वर्ष १३.५६ प्रतिशतमा सीमित बनेको छ भने प्रतिसेयर नेटवर्थ २३५.४७ रुपैयाँबाट बढेर २४४.२७ रुपैयाँको उचाईमा पुगेको छ ।
यस अवधिसम्म बैंकको कुल निक्षेप ३ खर्ब २ अर्ब ४३ करोड तथा कुल कर्जा प्रवाह २ खर्ब ५० अर्ब रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको निक्षेप २ खर्ब ९८ अर्ब ८१ करोड तथा कुल कर्जा २ खर्ब १३ अर्ब ४३ करोडमा सीमित रहेको थियो ।
समीक्षा अवधिमा बैंकको ईपीएस ३२.३५ रुपैयाँ, पीई रेसियो २१.५८ गुणा र तरलता अनुृपात २६.७४ प्रतिशत कायम भएको छ ।







