काठमाडौँ । सप्तरी जिल्लाको महादेवा गाउँपालिका–२ मा कृषि सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा ८ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । दोमुहान डगरदेखि पश्चिम खाडो नदी हुँदै भिमबाँधसम्मको कृषि सडक निर्माणमा अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ ।

अख्तियारका अनुसार भ्रष्टाचार गर्नेहरुको मिलेमतो र बदनियतपूर्वक थोरै मात्रामा काम सम्पन्न गरी नापी किताबमा बढी काम भएको देखाएर करिब ६ लाख ९० हजार रुपैयाँ बढी भुक्तानी लिएको जनाएको छ। यसरी गैरकानुनी रूपमा सरकारी रकमको हिनामिना गरेको ठहर गर्दै आयोगले सबै ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

यस भ्रष्टाचार प्रकरणमा महादेवा गाउँपालिका–२ का वडाध्यक्ष जगदिश मण्डल सहित विभिन्न निकायका कर्मचारी तथा उपभोक्ता समितिका पदाधिकारीहरू विरुद्ध मुद्दा चलाइएको हो । अन्य आरोपितहरूमा कृषि विकास निर्देशनालय नक्टाझिझ, धनुषाका कार्यालय प्रमुख रत्नकुमार झा, कृषि अर्थ विज्ञ–योजना प्रमुख विकासकुमार साह, र लेखा अधिकृत (छैटौं) चक्रप्रसाद अधिकारी रहेका छन् ।

त्यसैगरी, कृषि सडक निर्माण उपभोक्ता समिति कजौलीका अध्यक्ष हरिनारायण यादव, सचिव गंगाराम यादव, कोषाध्यक्ष सावित्रीदेवी यादव, साथै निर्देशनालयका परामर्शदाता संस्था किरु इन्जिनियरिङ कन्सल्टेन्ट प्रालि र सोका प्रोप्राइटर हरिशकुमार सिंह माथि पनि विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।