काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालमा मोबाइल फोन आयातबाट चार अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा २३ अर्ब २९ करोड रुपैयाँ भन्सार मूल्य बराबरका १२ लाख ५२ हजार वटा मोबाइल फोन आयात भएका छन्। आयात, कर तथा बजार मूल्य समेट्दा मोबाइल कारोबारको कुल आकार ३२ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।
भन्सार विभागका अनुसार आयातित मोबाइलमा बिक्री मूल्यमा जोडिने कर, मार्जिन तथा मूल्य अभिवृद्धि कर (भ्याट) समावेश हुँदा कारोबारको आकार उल्लेख्य रूपमा बढेको हो। हाल मोबाइल आयात गर्दा आयातकर्ताले १३ प्रतिशत भ्याट र ५ प्रतिशत अन्तशुल्क तिर्नुपर्ने व्यवस्था छ। यसरी मोबाइल आयातबाट सरकारले औसतमा एकमुष्ट १८.६५ प्रतिशत राजस्व प्राप्त गर्दै आएको छ।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा १६ अर्ब ७१ करोड रुपैयाँ भन्सार मूल्यका ११ लाख ११ हजार वटा मोबाइल फोन आयात भएका थिए, जसबाट २३ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यससँग तुलना गर्दा चालु आर्थिक वर्षको पहिलो छ महिनामा मोबाइल कारोबार करिब ३९ प्रतिशतले वृद्धि भएको देखिन्छ।
हाल बजारमा २०–२५ हजारदेखि ३०-३५ हजार रुपैयाँ मूल्य दायराका मोबाइल फोनको माग सबैभन्दा बढी रहेको व्यवसायीहरूको धारणा छ । उपलब्ध तथ्यांकले औसत नेपाली उपभोक्ताले २५–३० हजार रुपैयाँ मूल्यका मोबाइल प्रयोग गर्ने प्रवृत्ति बढ्दो क्रममा रहेको संकेत गर्छ।
आयातकर्ताबाट होलसेल हुँदै रिटेलसम्म पुग्दा थपिने मार्जिनका कारण उपभोक्तासम्म आइपुग्दा मोबाइल फोनको मूल्य आयात मूल्यको तुलनामा ४० प्रतिशतसम्म बढ्ने गरेको व्यवसायीहरूको भनाइ छ। यसले मोबाइल बजारको आकार विस्तार हुँदै गएको मात्र होइन, राज्यको राजस्व संकलनमा समेत महत्वपूर्ण योगदान पुगेको देखाउँछ।







