काठमाडौं। वीर अस्पतालले स्वास्थ्य बीमा मार्फत उपलब्ध गराइने सेवा कटौती गर्ने निर्णय गरेको छ। अस्पतालले हालसम्म दीर्घरोगका बिरामीलाई बीमा मार्फत तीन महिनासम्म औषधि उपलब्ध गराइरहेको थियो। तर, अबदेखि यो सेवा एक महिनासम्म मात्र उपलब्ध हुने भएको छ।
अस्पतालका अनुसार नयाँ व्यवस्था फागुन १ देखि अर्थात आजबाट लागू भएको छ। सूचनामा भनिएको छ, “१ फागुनदेखि अर्को व्यवस्था नभएसम्म बिमित सदस्यलाई एक महिनाका लागि मात्र औषधि उपलब्ध गराइने छ।” स्वास्थ्य बीमा बोर्डले लामो समयदेखि भुक्तानी नगरेको कारण सेवा कटौती गर्नु परेको वीर अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पतालले बीमा मार्फत ४० करोडभन्दा बढी रकम लिन बाँकी रहेको छ।
स्वास्थ्य बीमा कार्यक्रम अहिले चरम आर्थिक संकटमा छ। लामो समयदेखि भुक्तानी नपरेपछि ठूला अस्पतालहरूले समयसीमा तोकेर बीमा सेवामा कटौती गर्न थालेका छन्। बोर्डका अनुसार, सूचीबद्ध स्वास्थ्य संस्थालाई असार मसान्तसम्म ११ अर्बभन्दा बढी भुक्तानी बाँकी छ। यसले बिमित नागरिकलाई सेवा वञ्चित बनाउने मात्र नभई, स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने जोखिम बढाएको छ।







