काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) महाराजगञ्जले माघ १ गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गर्ने निर्णय गरेको छ।

अस्पताल प्रशासनले एक सूचना जारी गर्दै स्वास्थ्य बीमा बोर्डले उपचार वापतको रकम समयमै उपलब्ध नगराउँदा गम्भीर आर्थिक भार परेको जनाउँदै सेवा रोक्ने निर्णय लिनुपरेको जनाएको छ।

सूचना अनुसार स्वास्थ्य बीमा सेवा लिन आउने बिरामीको संख्या तथा उपचारको चाप दिनानुदिन बढ्दै गएको छ। तर, सोअनुसारको रकम बोर्डबाट प्राप्त नहुँदा अस्पताल आर्थिक घाटामा सञ्चालन गर्नुपरेको अवस्था सिर्जना भएको अस्पतालको भनाइ छ।

अस्पतालका अनुसार मासिक रूपमा करिब ५ करोड रुपैयाँभन्दा बढी खर्च व्यहोर्दै आएको भए पनि स्वास्थ्य बीमा बोर्डबाट जम्मा करिब ५० प्रतिशत मात्र दाबी रकम स्वीकृत हुँदै आएको छ। यसका कारण हालसम्म अस्पतालले बीमा दाबी वापत झण्डै ४० करोड रुपैयाँ पाउन बाँकी रहेको दाबी गरेको छ।

आर्थिक स्रोतको निरन्तर अभावले सेवा सञ्चालनमा कठिनाइ उत्पन्न भएकाले बाध्य भएर स्वास्थ्य बीमा अन्तर्गतका उपचार सेवा स्थगन गर्नुपरेको अस्पताल प्रशासनले जनाएको छ।