काठमाडौं। नेपालमा डिजिटल बैंकिङको प्रयोग बढेसँगै दिनप्रतिदिन साइबर ठगीका घटनाहरु बढिरहेका छन्। विभिन्न समूहहरुले ठगी गर्ने नयाँ नयाँ तरिकाहरुको प्रयोग गरिरहेकाले कहाँ निर कसरी ठगीमा परिन्छ भन्ने कुराको समेत पूर्वाभास हुन गाह्रो छ।

साइबर ठगीको सिकार आम मानिसहरु देखि लिएर उच्च पदस्थ कर्मचारीसम्म भइरहेका छन् । आर्थिक अपराधमा देखा परेका साइबर चुनौतीलाई गम्भीरतापुर्वक लिनुपर्ने अवस्थाको सृजना भएको छ ।

जनताले चोर र ठगहरुबाट बच्न आफ्नो पैसा बैंक तथा वित्तीय संस्थामा राख्छन। तर कहिलेकाँही आफ्नै लापरबाही , सिस्टमको कमजोरी लगायतका कारणले सुरक्षित महसुस गरेर राखेको बैंकको खाताबाटै ग्राहकको पैसा गायब गर्न सक्ने दुस्साहस साइबर ठगहरुले गरिरहेका छन् ।

यो नेपालको मात्र समस्या भने होइन, विश्वव्यापी रुपमा नै साइबर ठगीका घटनाहरु बढिरहेको अवस्था हो, जसबाट नेपाल पनि अछुतो छैन । नेपाल जस्तो जम्मा ३१ प्रतिशत डिजिटल साक्षरता भएको मुलुकमा यो जोखिम झनै बढी छ। तर यसको दीर्घकालीन समाधान खोज्न भने अपरिहार्य भइसकेको छ।

केवाईसी विवरण मागेर हुँदैछ ठगी

नेपाल राष्ट्र बैंकले हालै बैंक तथा वित्तीय संस्थाहरूको नाम दुरुपयोग गरेर केवाईसी विवरण माग्ने ठगी घटनामा वृद्धि भएको जनाएको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै फोन, सन्देश वा सामाजिक सञ्जालमार्फत लिंक पठाएर प्रयोगकर्ताको बैंक खाता ह्याक गर्ने प्रयास भएको पाइएको जनाएको हो ।

बैंक तथा वित्तीय संस्थाले केवाईसी अपडेटको लागि लिंक कहिल्यै पठाउँदैनन्

बैंक तथा वित्तीय संस्थाले कहिल्यै केवाईसी अपडेटको लागि लिंक कहिले पनि कुनै लिंक पठाउने गर्दैन । राष्ट्र बैंकका अनुसार प्रयोगकर्ताबाट ओटीपी, पासवर्ड वा पिन जस्ता गोप्य विवरण कहिल्यै मागिँदैन।

यदि कसैलाई यस्तो सन्देश प्राप्त भयो भने त्यसलाई क्लिक नगर्न, फोन वा सन्देशबाट आएको सूचनामा तुरुन्तै विश्वास नगर्न र शंका लागेमा सिधै बैंक वा वित्तीय संस्थासँग सम्पर्क गर्न जरुरी रहेको राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेले बताए।

सुरक्षित रहनका लागि केवाईसी सम्बन्धी जानकारी केवल आधिकारिक वेबसाइट वा बैंक शाखाबाट मात्र प्राप्त गर्नुपर्छ। नागरिकलाई सचेत रहन र सुरक्षित डिजिटल बैंकिङ अपनाउन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ। यसका साथै ठगीको घटनाबारे गुनासो दर्ता गर्न  www.gunaso.nrb.org.np  मा जानकारी प्राप्त गर्न सकिन्छ वा ०१–४७१९६०५ मा फोन गरेर सम्पर्क गर्न सकिन्छ।

“साइबर ठगीबाट बच्न ग्राहक वर्गले विशेष सतर्कता अपनाउनुपर्छ” : सुचना अधिकारी न्यौपाने

नेपाल रााष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेले अनधिकृत तथा ह्याकर समूहले केवाइसी अपडेट गर्न भनी कोड तथा विवरण माग्ने गरेको गुनासो ग्राहकहरुले राष्ट्र बैंक समक्ष समेत गरिरहेको बताए ।

आर्थिक भ्वाइससँगको कुराकानीमा उनले भने, “बैंकका ग्राहकहरुले बुझ्नु पर्ने कुरा के हो भने बैंकले कहिले पनि केवाइसी अपडेट गर्न कुनै लिंक पठाउँदैन। फोन मेसेजबाट आएका सूचनामा विश्वास नगर्नुस् । शंकास्पद लिंकमा क्लिक नै नगर्नुहोस् , ओटीपी, पीन , पासवर्ड त झन कसैलाई नबताउनुस् । हामी डिजिटल्ली सचेत भयौँ भने मात्रै पनि साइबर ठगीबाट धेरै हदसम्म बच्न सकिन्छ ।”

पछिल्लो समय ठगी गर्न नयाँ तरिकाहरु अपनाउने गरिएकाले त्यतातर्फ पनि विशेष रुपमा सचेत रहनुपर्नेमा सूचना अधिकारी न्यौपानेको जोड छ ।

उनी भन्छन् । ”पछिल्लो समय ग्राहकको आफन्त, साथीभाइका फेसबुक लगायत सामाजिक सञ्जालका आइडी ह्याक गरी आफुलाई समस्या परेकाले विभिन्न वहानामा रकम पठाइ मागेर समेत ठगी हुने गरेको छ । विश्वास जितेर, लालच देखाएर वा अन्य कुनै पनि तरिकाबाट ठगी हुन सक्ने भएकाले त्यतातर्फ ग्राहक वर्गले विशेष सचेत रहनुपर्ने आवश्यकता छ । ”
सोझासाझा मानिसहरुलाई साइबर ठगहरुले बढी निशानामा राख्ने गरेको समेत उनको भनाइ छ ।

साइबर ठगीबाट बच्न बैंकको प्रणाली कत्तिको मजबुत छ ?

बैंक तथा वित्तीय संस्थाको प्रणाली साइबर जोखिमका हिसाबले सबल रहेको सुचना अधिकारी न्यौपानेले बताए । राष्ट्र बैंकले निरन्तर रूपमा बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण गरिरहेको र बैंकहरू स्वयं पनि साइबर सुरक्षाको विषयमा सचेत रहेको न्यौपानेको भनाइ छ।

उनले भने,  “बैंक तथा वित्तीय संस्थाको निरन्तर रूपमा सुपरिवेक्षण भइरहेको हुन्छ। बैंकहरू साइबर ठगी सम्बन्धी विषयमा आफैँ पनि सचेत छन्।”

उनले हाल देखिएका अधिकांश साइबर ठगीका घटना प्रणालीगत कमजोरीभन्दा पनि ग्राहककै सचेतनाको अभावका कारण हुने गरेको उल्लेख गरे। “सिस्टमको कमजोरीका कारण ठगी भएका घटना खासै छैनन्, अधिकांश घटना ग्राहककै असावधानीका कारण भएका छन्,” उनले भने।

बैंकहरूले नियमित रूपमा आइटी अडिट गरिरहेको र राष्ट्र बैंकले नियमन तथा सुपरिवेक्षणलाई निरन्तरता दिएकोले बैंकको हालको प्रणालीलाई सबल नै मान्नुपर्ने उनको भनाइ छ।

यद्यपि, साइबर ठगी न्यूनीकरणका लागि डिजिटल साक्षरता अभिवृद्धिमा विशेष जोड दिनुपर्ने सुचना अधिकारी न्यौपानेले बताए। “बैंकको सिस्टमभन्दा पनि डिजिटल साक्षरतामा जोड दिनुपर्ने आवश्यकता छ।”

डिजिटल बैंकिङको विस्तारसँगै सुविधा बढे पनि त्यससँगै साइबर जोखिम पनि तीव्र रूपमा बढिरहेको स्पष्ट देखिन्छ। बैंक तथा वित्तीय संस्थाको प्रणाली तुलनात्मक रूपमा सुरक्षित भए पनि प्रयोगकर्ताको असावधानी साइबर ठगीको मुख्य कारण बन्दै गएको छ।

यसैले साइबर ठगी नियन्त्रणका लागि नियामक निकाय र बैंकहरूको मात्र प्रयास पर्याप्त हुँदैन। ग्राहक स्वयं डिजिटल रूपमा सचेत, सतर्क र जिम्मेवार हुन जरुरी छ। शंकास्पद लिंकमा क्लिक नगर्ने, ओटीपी, पिन र पासवर्ड कसैलाई पनि नदिने तथा आधिकारिक माध्यमबाट मात्र जानकारी लिने जस्ता सामान्य सावधानीले ठूलो आर्थिक क्षतिबाट जोगिन सकिन्छ।

डिजिटल युगमा सुरक्षित बैंकिङका लागि प्रविधिको विकाससँगै डिजिटल साक्षरताको विस्तार अपरिहार्य भइसकेको छ। सचेत नागरिक, मजबुत प्रणाली र प्रभावकारी नियमनको संयोजनबाट मात्रै साइबर ठगीको जोखिम न्यूनीकरण गर्न सकिने देखिन्छ।