काठमाडौँ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीका लागि लाभांश प्रस्ताव सार्वजनिक गरेको छ। संस्थाको सञ्चालक समितिको फागुन १५ गते सम्पन्न बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको आधारमा ९.५० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरिएको छ। यसरी सेयरधनीहरूले कुल १० प्रतिशत लाभांश प्राप्त गर्नेछन्।
साथै, प्रस्तावित लाभांशसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र नियामक निकायबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गर्ने निर्णय पनि गरिएको संस्थाले जनाएको छ।







